
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागु गर्न उपयुक्त हुने बताएकी छन्। बिहीबार काठमाडौंमा प्रविधि पत्रकार मञ्च (टीजेएफ) द्वारा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री शर्माले दूरसञ्चार सेवा प्रदायकहरुको सेवाको गुणस्तरमा प्रश्न उठाईन्।
मन्त्री शर्माले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दा देशका धेरै स्थानमा सामान्य सूचनाको पहुँच पुग्न नसकेको अवस्था रहेको बताईन्। मन्त्री शर्माले फोरजी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोरजी सेवालाई व्यवस्थित बनाएर फाइभजीमा जानु आवश्यक रहेको स्पष्ट गरिन्।
उनले फोन नलाग्ने ब्ल्याक स्पटहरुको पहिचान गर्दै सेवा सुधार गर्न सुझाव दिईन्।
‘‘नेपालमा फाइभजी लागू हुँदा धेरै लाभ लिन सकिने भएकाले लागू गर्न आवश्यक छ। हामीले फोरजीको स्टाटस थाहा नपाई फाइभजीमा कसरी अगाडि बढ्ने विषय छ। अहिले फोरजीको अवस्था के हो यसबाट कति लाभ लिएका छौं । फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभभन्दा पनि नोक्सानी हुने जस्तो लाग्छ।’’ सञ्चारमन्त्री शर्माले भनिन्।
मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको देशका धेरै भूभाग इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताईन्। विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको उनको भनाइ छ।
‘‘ग्रामीण क्षेत्रमा डाँडामा टेलिफोनको टावर भए पनि खोँचमा रहेको बस्तीमा टावर आउँदैन। गाउँपालिकाको कार्यालयमा फोन लाग्दैन फोरजीको विषय टाढाको कुरा हो। न्यूनतम फोन लाग्ने अवस्था समेत छैन भन्ने गुनासा आएका छन्। अझै पनि कतिपय स्थानमा टेलिफोन सेवा पुग्न सकेको छैन,’’ सञ्चारमन्त्री शर्माले भनिन्, ‘‘उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको छैन । निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेटको पहुँचबाहिर छन्।’’
मन्त्री शर्माले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्याउन निर्देशन दिईन्। उनले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताईन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभजी सेवा अपेक्षा अनुसार नभएर पनि परीक्षण सुरु भएको बताए। उनले फाइभजी सेवा परीक्षणको दायरा बढाउन आग्रह गरे। अध्यक्ष खनालले फाइभजी प्रयोगकर्ताले परीक्षण गर्नुपनि परीक्षणको एउटा पाटो भएको बताए।
उनले प्राधिकरणले नेपालमा फाइभजी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको जानकारी दिए। उनले नियमनकारी निकायले फाइभजी विषयमा सुक्ष्म रुपमा व्यवस्थापन नगर्ने सोच भएपनि अब सुक्ष्मरुपमा व्यवस्थापन गर्ने सोचमा पुगेको जानकारी दिए।
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार