
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स(एआई) टूल च्याटजीपीटीको बारेमा एउटा रोचक जानकारी बाहिर आएको छ, जसमा यो च्याटबोटले २०० भन्दा बढी पुस्तकहरू लेखेको र ई-कमर्स वेबसाइट अमेजनमा बिक्रीको लागिसमेत उपलब्ध छन्।
यसअघि यो च्याटबोटले एमबीए, मेडिकल, कानून आदिको परीक्षा पास गरेको जानकारी सार्वजनिक भएको थियो। यो सुनेर मानिसहरु छक्क परेका थिए। तर, अब यस भन्दा पनि ठूलो र रोचक कुरा भनेको यो च्याटबोटले किताबहरू पनि लेख्न सक्छ र यसले लेखेका किताबहरू अमेजनमा किन्नका लागि नै उपलब्ध छन्।
रोयटर्सको रिपोर्टका अनुसार ओपन एआईको च्याटबटले २०० भन्दा बढी पुस्तकहरू लेखेको छ, जसमा च्याटबोट पुस्तकहरूको मुख्य लेखक भएको छ वा च्याटबोटले सह-लेखकको रूपमा यसमा सहयोग गरेको छ। यी पुस्तकहरू अमेजनबाट ई-बुक वा पेपरब्याकको रूपमा किन्न सकिनेछ।
यो च्याटबोटले २०० भन्दा बढी किताब लेखेको पनि बताइएको छ तर नीतिका कारण यो कुरा खुलेर सबैका अगाडि नआएको दाबी छ। रिपोर्टमा भनिएअनुसार फेब्रुअरी महिनामा अमेजन किन्डल स्टोरमा २०० भन्दा बढी ई-पुस्तकहरू सूचीबद्ध भएका थिए, जसमा च्याटजीपीटी लेखक वा सह-लेखकको रूपमा सूचीबद्ध थियो।
अमेजनमा च्याटजीपीटीद्वारा लेखिएका पुस्तकहरूको संख्या लगातार बढिरहेको छ। च्याटजीपीटी अन च्याटजीपीटी पुस्तकमा, च्याटबोटले आफैंले के गर्न सक्छ भनेर बताएको छ। तपाईंले किन्डलमा यो पुस्तक नि:शुल्क हेर्न सक्नुहुन्छ, तर यसको मुद्रित संस्करणको लागत लगभग ११.९९ डलर तोकिएको छ। च्याटजीपीटी बालबालिकाका लागि नैतिक कथाहरू लेख्न पनि प्रयोग भइरहेको बताईएको छ।
अर्कोतर्फ बिजनेश इनसाइडरको रिपोर्टका अनुसार, सान फ्रान्सिस्को, वित्तीय प्रविधि कम्पनीका उत्पादन डिजाइन प्रबन्धक अम्मार रेशीले च्याट जीपीटीको सहयोगमा उनले ७२ घण्टाभन्दा कम समयमा एउटा पुस्तक लेखेको बताएका थिए, जसमा उनले एआई उपकरणहरूबारे व्याख्या गरेका थिए। यसैबीच, अर्थर्स गिल्डकी कार्यकारी निर्देशक मेरी रासेनबर्गरले यो अवस्था चिन्ताजनक भएको र चाँडै ठूला लेखकहरूले आफ्नो जागिर गुमाउन सक्ने बताईन्।
यी अंग्रेजी भाषाका पुस्तकहरू च्याटजीपीटी (Chat GPT) द्वारा लेखिएका हुन्ः-
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार