क्यान महासंघले ‘स्मार्ट सिटी’को अवधारणामा अन्तरराष्ट्रिय सम्मेलन गर्ने

  • Technology Khabar | ११ फाल्गुन २०७९, बिहीबार

काठमाडौं ।

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)ले डिजिटल नेपालको अभियानलाई अगाडि बढाउने उद्देश्यले स्मार्ट सिटीलाई प्रबद्र्धन गर्ने भएको छ।

क्यान महासंघले यसको लागि आउँदो जून २ र ३ तारिखमा काठमाडौंमा स्मार्ट सिटी सम्मेलन गर्ने तयारी गरिरहेको क्यान महासंघका महासचिव चिरञ्जीबी अधिकारीले जानकारी दिए।

उक्त सम्मेलनले डिजिटल नेपालको अभियानलाई सहयोग गर्न र स्मार्ट सिटीको अवधारणालाई अगाडि बढाउन सहयोग पुग्ने बताईएको छ।

क्यान महासंघका महासचिव अधिकारीले देशभित्र सूचना प्रविधिको विकासमा क्यान महासंघ महत्वपूर्ण संस्था भएको हुँदा डिजिटल नेपालको अभियानलाई सार्थक बनाउन महासंघले उक्त पहल लिएको बताए।

‘आगामी दिनमा हाम्रा शहरहरु कस्तो हुनुपर्छ भन्ने उद्देश्यले स्मार्ट सिटीको अवधारणालाई अगाडि ल्याईएको हो,’ उनले भने, ‘उक्त सम्मेलनमा सरोकारबाला निकायहरुका साथै देशभरका ७५३ ओटै पालिकाहरुको समेत सहभागिता हुनेछ।’

महासचिव अधिकारीकाअनुसार यसले सरकार र स्थानीय तहहरुलाई भविश्यमा शहरी विकास र निर्माणमा नयाँ खाकासहित सहयोग पुर्याउने छ। त्यसैगरी शहरको विकासमा सूचना प्रविधिको प्रयोग र उपयोगीताको बारेमा समेत जनचेतना गराउनेछ।

आउँदो सम्मेलनमा १२ फरक फरक थीमहरुमा छलफल गरिने योजना रहेको छ।

स्मार्ट सिटी सम्मेलनका लागि क्यान महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा आयोजक कमिटी गठन गरिएको छ भने उक्त कमिटीले सरोकारबाला निकायहरुसँग छलफल गरिरहेको बताईएको छ।

यसअघि क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवरकै नेतृत्वमा सातै प्रदेशमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पहिलो पटक संस्थामार्फत डिजिटल जनचेतना र छलफल कार्यक्रम सम्पन्न गरेको थियो।

स्मार्ट सिटी सम्बन्धित सम्मेलनलाई एसियन ओसिनियन कम्प्युटिङ इण्डष्ट्रि अर्गनाइजेसन – असोसियो (The Asian-Oceanian Computing Industry Organization – ASOCIO) ले समेत सहयोग र सहभागीता जनाउने बताईएको छ।

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया