धनगढीको ६ लेन सडकमा ‘स्मार्ट’ बत्तीको झिलिमिलि

  • Technology Khabar | ११ फाल्गुन २०७९, बिहीबार

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको छ लेन सडकमा बुधबारदेखि स्मार्ट सडक बत्ती बल्न सुरु भएको छ। छ लेन सडकलाई राति उज्यालो बनाउनुका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले स्मार्ट सडक बत्ती जडान गरिएको हो। सो बत्तीको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बुधबार साँझ उद्घाटन गरे।

वडा नम्बर ३ को मोहनापुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडान गरिएको छ। छ लेन सडकको साढे छ किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान भएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए।

नेपाल विद्युत प्राधिरण, राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा स्मार्ट सडक बत्ती जडान गरिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए।

उनले धनगढी उपमहानगरपालिकाको उद्देश्य १९ वटै वडालाई उज्यालो बनाउने रहेको बताए। ‘छ लेन सडक अत्यन्त महत्वपूर्ण सडक हो, त्यसैले पहिलो प्राथमिकतामा राखेर यसमा स्मार्ट बत्ती जडान गर्‍यौं’, उनले भने,‘हाम्रो उद्देश्य सबै वडालाई उज्यालो बनाउनु हो।’

बत्ती बले वापत उठ्ने विद्युत महसुल धनगढी उपमहानगरपालिकाको कार्यालयले तिर्ने जनाइएको छ। धनगढी उमपहानगरपालिकाको कार्यालयका अनुसार उज्यालो धनगढी कार्यक्रम अन्तर्गत पहिलो चरणमा २१२ पोलमा ४३२ वटा बत्ती जडान गरिएको छ। दुई करोड ७० लाख रुपियाँ खर्चेर सडक बत्ती जडान गरिएको हो।

जसमा एक करोड ६१ लाख (६० प्रतिशत) धनगढी उपमहानगरपालिका र एक करोड सात लाख (४० प्रतिशत) रुपियाँ परियोजनाले व्यहोरेको धनगढी उपमहागरपालिकाका डिभिजनल इन्जिनीयर दिजराज भट्टले जानकारी दिए। पहिलो चरणमै ६५ लाख रुपियाँ लागतमा १० वटा हाइमास्ट लाइट पनि जडान गरिने उनले बताए।

छोटो समयमा विभागले छोटो अवधिमा धनगढीको बत्ती जडान भएको विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाका प्रमुख श्रीराम पोख्रलले बताए।

‘धनगढीमा मेयरको सक्रियताले बत्ती बलेको छ’, उनले भने, ‘नमुनाका रुपमा काम भएको छ। अन्य ठाउँमा पनि यस प्रकारका काम हुन्छन ।’ उनले सम्झौता भएको ६ देखि ७ महिनामा बत्ती बाल्न सकेको बताए । ‘उज्यालो बढी, बिल पनि कम आउँछ’, उनले भने, ‘राति कम बेलुका एकदम चम्किलो र लुक्स पनि राम्रो हुन्छ त्यसले गर्दा विभागले स्मार्ट फिचर राखेको हो।’

सेन्सर जडित स्मार्ट सडक बत्ती साँझ परेपछि आफै बल्ने र विहान घाम झुल्केपछि आफै निभ्ने जनाइएको छ। सूर्योदय उर्जा प्रालिले ठेक्का पाएर स्मार्ट सडक बत्ती जडान गरेको हो। स्मार्ट सडक बत्ती जडानले छ लेन सडकमा दुर्घटना न्यूनीकरणसहित शान्ति, सुरक्षा कायम गर्नमा सहयोग पुग्ने बताइएको छ।

दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान गर्ने लक्ष्य रहेको छ।

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया