काठमाडौं ।
केही वर्ष पहिले जब टिकटकले गति लिन थाल्यो, त्यसपछि अमेरिकी सरकार र विश्वभरका अन्य धेरै नियामकहरूले यस सामाजिक प्लेटफर्मलाई नजिकबाट हेर्ने निर्णय गरेका थिए। उनीहरूले यस एपले बालबालिकाको अधिकार उल्लङ्घन गरेको र के पोस्ट गर्ने भन्ने कुरामा कुनै नियन्त्रण नभएको फेला पारेका थिए। फलस्वरूप टिकटकलाई केही देश र क्षेत्रहरूमा प्रतिबन्धित गरियो।
यद्यपी प्रतिबन्धले यस एपलाई अझ लोकप्रिय हुनबाट भने रोक्न सकेन। साथै केहि सरकारहरूले यस एपलाई राष्ट्रिय सुरक्षाको लागि खतरा हुने पनि उल्लेख गरे।
टिकटक प्रयोगकर्ता डाटामा कसको पहुँच हुन सक्छ?
अन्य सामाजिक प्लेटफर्महरू र समान एपहरू जस्तै टिकटकले पनि प्रयोगकर्ता डाटा सङ्कलन गर्ने गर्दछ। सामाजिक प्लेटफर्महरूले राम्रो अनुभव प्रदान गर्न र थप सान्दर्भिक सामग्री देखाउनको लागि भनेर डाटा सङ्कलन गरिने भनेर प्रमाणित गरेपनि प्रयोगकर्ता डाटा विभिन्न उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ। कम्पनीहरूले यसलाई अन्य उद्देश्यका लागि प्रयोग नगरे पनि प्रणाली सधैं जुनसुकै समयमा पनि ह्याक हुनसक्ने जोखिममा रहेको हुन्छ।
आफ्नो गतिविधि पारदर्शी छ भनेर देखाउनको लागि टिकटकले गत वर्ष देखि आफ्नो एपीआईको परीक्षण समेत सुरु गरेको छ। साथै केही समय अघि एपीआईको डाटा अमेरिकाका गैर-लाभकारी शैक्षिक संस्थाहरूसँग आबद्ध अनुसन्धानकर्ताहरूको लागि उपलब्ध भएको टिकटकले घोषणा गरेको थियो।
यद्यपी टिकटक प्रयोगकर्ता डाटाबेस पहुँच गर्न भने शुरुमा विद्वानहरूले प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गरिएको छ। प्रस्ताव पेश गरिए पश्चात उक्त प्रस्तावहरु यूएस डाटा सेक्युरिटी (यूएसडीएस) डिभिजनबाट अनुमोदित हुनुपर्ने छ। एक पटक स्वीकृत भएपछि भने अनुसन्धानकर्ताहरूले सार्वजनिक खातामा पहुँच प्राप्त गर्नुका साथै प्रयोगकर्ताहरूले एपमा पोस्ट गर्ने सामग्रीहरुको जानकारी पनि प्राप्त गर्न सक्नेछन्। जसमा, टिप्पणी (कमेन्ट), लाइक लगायत अन्य जानकारीहरुमा सहज पहुँच पाउने बताइएको छ। साथै यस्ता किसिमका डाटाहरुले विद्वानहरूलाई युवा पुस्ताको व्यवहार बुझ्न सघाउने बताइएको छ।
टिकटकले भने यस कदमबाट राष्ट्रिय सुरक्षाको लागि खतरा नभएको भनेर प्रमाणित गर्ने प्रयास गरिरहेको छ। यदि टिकटक यस प्रयासमा असफल भएको खण्डमा भने धेरै राज्यहरूमा जस्तै गरी अमेरिकामा प्रतिबन्धित हुन सक्ने सम्भावना रहेको बताइएको छ।
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार