Technology Khabar १० फाल्गुन २०७९, बुधबार
काठमाडौं ।
कम्प्युटर एसोसिएसन् नेपाल महासंघ (क्यान महासंघ)ले कसैलाई पनि उपाध्यक्ष बनाउनका लागि महासंघको बैठकमा छलफल र निर्णय नै नभएको जिकिर गरेको छ।
टेक्नोलोजीखबरमा प्रकाशित समाचारको विषयमा २०७९ फागुन ९ गते मंगलबार इमेलमार्फत खण्डन पत्र पठाउँदै क्यान महासंघले ‘महासंघको कुनै पनि बैठकमा ‘क्यान इन्फोटेक २०२३’ प्रायोजन गरेबापत कुनै पद दिने भन्ने विषयमा छलफल तथा निर्णय नभएको’ दाबी गरेको हो।
टेक्नोलोजीखबरले यसअघि २०७९ माघ २४ गते ‘क्यान इन्फोटेक प्रायोजन गरिदिएबापत इन्फोडेभलपर्सका सीईओ रघुबंशीलाई क्यान महासंघको उपाध्यक्ष पद उपहार!’ हेडलाइनमा समाचार प्रकाशित गरेको थियो। जसमा इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुबंशीलाई उपाध्यक्ष चयन गरेको विभिन्न समाचार स्रोतहरुलाई सम्पर्क गरी स्रोत प्रमाणित गरेर समाचार प्रकाशित गरेको थियो।
उक्त समाचारमा क्यान महासंघका ‘सेक्टोरल’ उपाध्यक्ष तथा एक सचिवको चुनावी चयन बारे उल्लेख गरिएको थियो।
सम्बन्धित समाचार-
त्यसैगरी क्यानले सूचना सञ्चार प्रविधि क्षेत्रको छाता एवं अभिभावक संस्थाका रुपमा स्थापित क्यान महासंघले हरेक निर्णय र कामकारबाही प्रक्रियासङ्गत गर्दै आएको भन्दै समाचारमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ। क्यानका महासचिव चिरञ्जीबी अधिकारीको हस्ताक्षरमा पठाएको पत्रमा भनिएको छ, ‘क्यान इन्फोटेकको अवधिमा प्रकाशित यो समाचार महासंघको प्रतिष्ठामा आँच पुयाउने मनसायले स्वार्थप्रेरित, भ्रामक र कपोल्कल्पित रहेको क्यान महासंघको ठहर छ। प्रेस स्वतन्त्रताको हामी सदैव सम्मान गर्छौं तर पत्रकारिताको मर्म विपरित एकतर्फी र काल्पनिक विषयवस्तु तयार गरी समाचारको रूपमा प्रकाशन गर्दा पाठकमा भ्रम पैदा भएकोमा हामी खेद व्यक्त गर्न चाहन्छौं।’
त्यसैगरी क्यानले आफ्नो कार्यदायरा भन्दा बाहिर गई, तथा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ बाहिर रही हचुवाको भरमा समाचार सच्याउन भनेको छ।
पत्रकार आचारसंहिताले ‘गल्ती सच्याउन तत्परता’ अन्तरगत भनेको छ:- ‘…त्यस्ता सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु, त्रुटि एवं गल्ती भएको जानकारी हुनासाथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रसारित सामग्री असत्य हो भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नुपर्दछ।’
तर उक्त समाचारमा सत्यता नभएको भन्ने क्यान महासंघले प्रमाण दिनसकेको छैन्।
यसका साथै ‘क्यान महासंघले गर्ने निर्णयहरू विधान अनुरूप मात्र हुने भएकाले प्रकाशित समाचारमा सत्यता नभएकाले टेक्नोलोजीखबरलाई समाचार सच्याउन तथा आगामी दिनमा सम्बन्धित पक्षको भनाइसमेत राख्नु पर्ने पत्रकारिताको आधारभूत मान्यता अनुरूप कुनै जिज्ञासा भएमा सोधेर तथा तत्यपूर्ण तरिकाले मात्र सम्प्रेषण गर्न’ भनेको हो।
क्यान महासंघले उक्त खण्डन पत्र पठाएपनि आफ्नै खण्डन पत्रको विपरित आधिकारिक वेबसाइट https://www.can.org.np/page/4 मा उमेश रघुबंशी उपाध्यक्ष रहेको भन्दै तस्विरसहित उनको नाम र पदको जानकारी नै राखेको छ।
क्यान महासंघले खण्डनमा ‘क्यान इन्फोटेक २०२३’ प्रायोजन गरेबापत कुनै पद दिने भन्ने विषयमा छलफल तथा निर्णय नभएको’ दाबी गरेर पत्र पठाईरहँदा उनी उपाध्यक्षमा चयन भएको बारेको टेक्नोलोजीखबरको समाचारलाई क्यान महासंघ आफैंले ‘सत्य’ भएको प्रमाणित र पुष्टि गरिदिएको छ।

यसअघिको समाचारमा ‘क्यान इन्फोटेकको मुख्य प्रायोजन गर्ने इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुबंशीलाई इन्फोटेक प्रायोजन गरिदिए बापत क्यान महासंघले आफ्नो संस्थाको उपाध्यक्ष बनाएको’ बारेमा स्रोतहरुलाई उदृत गर्दै लेखिएको थियो। उनको संस्थाले नै क्यान इन्फोटेक २०२३ को मुख्य प्रायोजन गरेसँगै क्यान इन्फोटेक २०२३ को तयारी बारे जानकारी दिन आयोजित एक कार्यक्रममा प्रायोजक कम्पनीका आधारमा बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम नै ‘’इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’’ रहेको जानकारी दिईएको समाचारमा उल्लेख थियो।
जसअनुसार क्यान महासंघको खण्डन पत्र नै आफैं क्यानको आधिकारीक वेबसाइटसँग बाझिएको देखिन्छ।
यसअघि रघुबंशीलाई कार्यसमिति सदस्यको रुपमा मात्र वेबसाइटमा चिनाईएको थियो। जुन विषय तत्कालिन समाचार पनि उल्लेख छ।
यसैबीच क्यान महासंघको बैठकमा उक्त समाचार प्रकाशित गरेबापत टेक्नोलोजीखबरलाई कारबाही गर्नुपर्ने र समाचार दिने कार्यसमिति सदस्यहरुलाई पनि कारबाही गर्नुपर्ने बारेमा छलफलसमेत भएको क्यान महासंघ स्रोतले दाबी गरेको छ।
क्यान महासंघको एउटा बैठकमा संस्थाका सदस्य दिपेन्द्र पौडेलले उक्त समाचारले संस्थाको बदनाम गराएको भन्दै टेक्नोलोजीखबरलाई कारबाही गर्नुपर्ने बताएको क्यान महासंघ स्रोतले जानकारी दिएको छ।
“यसले संस्था र व्यक्तिमाथि नै आक्षेप लगाएको छ। कारबाही गर्नुपर्छ,’ उनले बैठकमा भनेको कुरा उल्लेख गर्दै समाचार स्रोतले भन्यो।
यसका साथै बैठकमा एक वरिष्ठ पदाधिकारीले उक्त समाचार दिने कार्यसमिति सदस्यहरु पत्ता लगाएर उनीहरुलाई पनि कारबाही गर्नुपर्ने माग गरेको अर्का एक क्यान सदस्यले टेक्नोलोजीखबरलाई जानकारी दिए।
त्यस्तै बैठकमा छानबिन समिति बनाउनुपर्ने बारेमा पनि छलफल भएको बताईएको छ। तर क्यान महासंघका वरिष्ठ पदाधिकारीसहित बहुमत कार्यसमिति सदस्यहरुले समिति नै बनाउनु उचित नहुने बताएको स्रोतले बतायो।
हेर्नुस् क्यान महासंघले पठाएको खण्डन पत्र-
खण्डन सम्बन्धमा ।प्रकाशित: १० फाल्गुन २०७९, बुधबार