
काठमाडौं ।
छिमेकी देश भारतको राजधानी दिल्लीमा निजी बाइकलाई ट्याक्सीका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। सरकारको यो निर्णयले दिल्लीका आम मानिसलाई स्तब्ध बनाएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
हाल दिल्लीमा बाइक ट्याक्सी अर्थात राइड सेयरिङ्ग सेवा घरबाट अफिस र दिल्लीको कुनै पनि ठाउँमा जानको लागि धेरै सहज तरिकामा प्रयोग भइरहेको छ। यसका साथै दिल्लीका जनताले पनि यसको भरपुर सदुपयोग गरिरहेको बताईएको छ। तर अहिले निजी मोटरसाइकलको प्रयोगमा प्रतिबन्ध लगाइएको हो।
निजी मोटरसाइकलमा यात्रु सेवा बन्द
भारतीय मिडिया रिपोर्टहरुकाअनुसार दिल्ली यातायात विभागले ओला, उबर, र्यापिडो जस्ता कमर्शियल बाइक ट्याक्सी सेवाहरू (टू ह्वीलर्स कमर्शियल सर्भिस) लाई उनीहरूका चालकहरूले निजी बाइक प्रयोग गरिरहेको बताएको छ र यस्तो सेवा तत्काल रोकिएको छ। दिल्ली सरकारले भाडामा वा इनामको आधारमा दिल्लीमा यात्रु बोक्नुलाई मोटर वाहन ऐन, १९८८ को उल्लङ्घन मानिने बताएको छ। कसैले निजी मोटरसाइकलमा कमर्सियल ट्याक्सीको सुविधा उपलब्ध गराएको पाइएमा एक लाख भारतीय रुपैयाँसम्म जरिवाना र जेल सजाय पनि हुनेछ।
दिल्ली सरकारको यातायात विभागले यस सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ। पहिलो कसुरमा ५ हजार रुपैयाँ जरिवाना, दोस्रो कसुरमा १० हजार रुपैयाँ जरिवाना र १ वर्षसम्म कैद हुन सक्ने यो सूचनामा उल्लेख छ। साथै, यस्तो अवस्थामा, चालकले ३ महिनाको लागि आफ्नो लाइसेन्स पनि गुमाउन सक्छ।
भारु १ लाख जरिवाना
सरकारले सूचनामा केही एपमा आधारित कम्पनीहरुले सन् १९८८ को ऐन उल्लंघन गरेको उल्लेख गरेको छ। यी कम्पनीले आफूलाई एग्रीगेटरको रूपमा प्रस्तुत गर्दछन्। निजी मोटरसाइकलमा यस्तो सेवा दिएमा १ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। भारतमा सन् २०१९ मा मोटर वाहन ऐनमा गरिएको संशोधनसँगै एग्रीगेटरहरूले वैध इजाजतपत्र बिना सेवा चलाउन नसक्ने स्पष्ट पारिएको थियो।
भारतको राजधानी दिल्लीमा उबर, ओला र र्यापिडो जस्ता कम्पनीहरुले बाइक ट्याक्सी वा राइड सेयरिङ्ग सेवा सेवा दिँदै आएका छन्। यो निर्णयले अब उनिहरुको सेवा प्रभावित हुने उल्लेख छ।
प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार