
काठमाडौं ।
स्मार्ट टिभीको साथमा टिभी च्यानल हेर्न सेटअप बक्स पनि आवश्यक पर्दछ। स्मार्टटिभीमा दैनिक कार्यक्रम हेर्नको लागि २ देखि ४ हजार रुपैयाँसम्म सेटअप बक्समा खर्च गर्नुपर्दछ। अनिमात्र त्यसपछि टिभीमा कुनै पनि कार्यक्रम हेर्न सकिन्छ।
तर छिमेकी देश भारतमा यो विषयलाई ध्यानमा राखेर नयाँ प्रविधि लागू गरिने भएको छ। जसअन्तरगत टिभीमा सेटअप बक्स इन्स्टल गर्नु पर्दैन।
भारतको केन्द्र सरकारले नयाँ प्रविधि ल्याइरहेको भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख छ। जसमा टिभीसेट भित्र नै स्याटेलाइट ट्युनर जडान गरिनेछ। यसको अर्थ सेटअप बक्स टिभी भित्र नै राखेर आउनेछ। यस्तो अवस्थामा यूजरले टिभी जोडेर अन गरेपछि सिधै मनपर्ने कार्यक्रमहरु हेर्न सक्नेछन्। यस स्याटेलाइट ट्युनरमा राखिएका करिब २०० नि:शुल्क च्यानलहरू प्रसारण हुनेछन्।
टिभीमा स्याटेलाइट ट्युनर
भारतीय सूचना तथा प्रशारण मन्त्री अनुराग ठाकुरले टेलिभिजनमा बिल्ट-इन-स्याटेलाइट ट्युनर कनेक्सन गर्ने पहल थालिएको जानकारी दिएको मिडियाहरुले उल्लेख गरेका छन्। यसका लागि भारतीय सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवलाई पत्र लेखेर टेलिभिजन निर्माताहरूलाई टिभीमा स्याटेलाइट ट्युनर जडान गर्न निर्देशन दिन आग्रह गरिएको थियो। यसका लागि सूचना तथा प्रसारण मन्त्रालयले स्ट्याण्डर्ड स्याटेलाइट ट्युनरका लागि निर्देशिका जारी गर्नुपर्नेछ।
भारतको सरकारी स्तरबाट निर्णय भएपछि नियमावली जारी हुने मिडिया रिपोर्टमा उल्लेख छ। जसले यसको सट्टा, प्रयोगकर्ताहरूले छुट्टै सेटअप बक्स सेटअप गर्नु पर्दैन। यसले प्रयोगकर्ताहरूको पैसा पनि बचत गर्ने बताईएको छ। तर, यो ट्युनरको लागि छतमा एन्टेना जडान गर्नुपर्छ। यसपछि फ्री टु एयर टेलिभिजन र रेडियो च्यानलहरू नि:शुल्क हेर्न सकिन्छ।
च्यानलहरू निःशुल्क हेर्न सक्षम हुने
समाचारअनुसार टिभीमा स्याटेलाइट ट्युनर इन्स्टल गरेपछि प्रयोगकर्ताहरूले पहिलेभन्दा धेरै नि:शुल्क भारतीय सरकारी च्यानलहरू हेर्न सक्नेछन्। अहिलेसम्म यसको लागि सेटअप बक्समा न्यूनतम रिचार्ज गर्नु पर्थ्यो, त्यसपछि मात्र प्रयोगकर्ताहरूले कुनै पनि च्यानल हेर्न सक्छन्।
भारतमा सरकारी टिभी च्यानल भएका कारण दूरदर्शन च्यानलहरू निःशुल्क छन्। तर हालसम्म सेटअप बक्सका कारण यी च्यानलहरू नि:शुल्क हेर्न नसकिएको बताईएको छ।
प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार