
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विद्युतीय राहदानीका लागि टाइम कार्ड तथा टोकन प्रणाली लागू गरेको छ । कार्यालयले शुक्रबारदेखि टाइम कार्ड र टोकन प्रणाली लागू गरेसँगै निःशुल्क रूपमा राहदानीको आवेदन फारम भर्ने व्यवस्थासमेत गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले कार्यालयबाहिर बजारमा रहेका पसलले विभिन्न बहाना बनाउँदै दुई सयदेखि चार हजार रुपियाँसम्म रकम लिई राहदानीको फारम भर्ने गरेको गुनासो आएपछि कार्यालयले टाइम कार्ड र टोकन प्रणाली लागू गरेको बताए।
पोखरेलले भने, “कार्यालयले टाइम कार्ड र टोकन प्रणाली लागू गरेपछि सेवाग्राहीले राहदानीका लागि फोटो खिच्न लाइनमा बस्नुपर्ने झन्झट हट्नुको साथै बिचौलिया प्रवृत्तिसमेत हट्नेछ।”
उनले कार्यालयले सेवाग्राहीहरूको राहदानीको निःशुल्क फारामसमेत भरिदिने व्यवस्था भन्दै सेवाग्राहीको सुविधालाई हेरेर कार्यालयले सार्वजनिक बिदाको दिनमा समेत राहदानीको फाराम भर्ने सेवा प्रदान गर्ने बताए। उनले कार्यालयमा दैनिक ६० जनाको राहदानीको फोटो खिच्न सकिने बताए। गोरखापत्रबाट
प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार