
काठमाडौं ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले राइड शेयरिङ्गमा आबद्ध राइडरहरुलाई कारबाही गर्न थालेको छ।
ट्राफिक प्रहरीले बुधबारदेखि काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा रहेका टूटल, पठाओ, इन्ड्राइभ लगायतका राइड शेयरिङ्ग सेवाका राइडरहरुलाई कारबाही गरेको हो।
तर ट्राफिक प्रहरीले राइड सेवा प्रदान गर्ने राइडरहरुलाई कारबाही गरेको भन्ने विषय कतै उल्लेख भने गरेको छैन्। ट्राफिकले यसको साटो प्रयोजन विपरीत चलाउने मोटरसाइकल चालकहरुलाई कारबाही गरेको मात्र जानकारी दिएको छ।
जसअनुसार बुधबार १७ जना मोटरसाइकलका चालकलाई बुधबार कारबाही गरेको हो।
यस्तै बिहिबार पनि ट्राफिकले प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई कारबाही गरेको हो।
निजी प्रयोजनमा दर्ता भई भाडा लिइ यात्रु बोक्ने गरेको पाइएपछी चालकहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलका चालकहरुलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।
“कारबाहीमा पर्नेमा इन्ड्राइभ पठाओलगायतका राइडरपनि छन भने केहि अन्य चालकहरु छन्,” प्रवक्ता भट्टले टेक्नोलोजीखबरसँग भने। ट्राफिकले आफ्नै नियमित चेकजाँकअन्तरगत यो कारबाही गरिएको उनले बताए।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी सवारी साधनले भाडाको सवारीकोरुपमा सेवा संचालन गर्न नपाईने उल्लेख गरेको छ। उता बागमती प्रदेश सरकारले राइड शेयरिङ्ग सेवालाई कानूनी दायरामा ल्याउन नयाँ प्रादेशिक ऐन प्रस्तावित गरेपनि संघिय ऐनका कारण लागू हुन सकेको छैन्।
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार