
काठमाडौं ।
घरबाट चोरी गरेका मोबाइल र ल्यापटप खरिद गर्ने व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, माईतीघरस्थित युएममी मोबाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन्।
यसका साथै काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोबाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो।
थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोबाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोबाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो।
साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।
*हेडलाइन, समाचार सम्पादित। अन्यथा हुन गएकोमा सच्याईएको छ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार