
काठमाडौं ।
– निर्दोष घोरसाईने
यातायात मजदूरहरुको आन्दोलनको मौका पारेर गोंगबु बसपार्क स्थित लोत्से मलबाट लुटपाट र चोरी गरिएका मोबाइल फोन प्रयोग गर्नेहरु जुनसुकै समय प्रहरीको फन्दामा पर्ने देखिएको छ।
यहि फागुन १ गते भएको आन्दोलन र लुटपाटमा नयाँ बसपार्क स्थित लोत्से मलमा रहेका डाइमण्ड मोबाइल, एसीडीसी मोबाइल पसललगायतबाट करिब २५ सय मोबाइल सेटहरु चोरी भएको थियो।
चोरी भएको मोबाइलहरु आधिकारिक माध्यमबाट नेपाल भित्रिएका हुन् भने त्यसलाई ट्रयाक गर्न सकिने नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अन्तर्गत चोरी भएका मोबाइल ट्रयाक गर्न सकिने प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले टेक्नोलोजीखबरलाई बताए।
‘यसका लागि व्यवसायीहरुले प्राधिकरणको अनलाइन पोर्टलमा लस्ट- स्टोलनमा इन्ट्री गर्नुपर्ने हुन्छ। यसका आधारमा प्राधिकरणले इन्ट्री भएका आईएमईआई नम्बरलाई निगरानीमा राख्छ,’ हाडाले भने, ‘यदि ती चोरी भएको मोबाइलमा कसैले सिम राखेर प्रयोग गरेमा त्यसको विवरण प्राधिकरणमा प्राप्त हुन्छ। र उक्त विवरण प्राधिकरणले प्रहरीलाई उपलब्ध गराउनेछ।’
यदि छिमेकी देश भारत वा अन्य देशमा लुटेर लगेका मोबाइल प्रयोग गरिएको अवस्थामा भने ट्रयाक गर्न नसकिने हाडा बताउँछन्।
तर उनकाअनुसार यस्तो फोनलाई ब्लक भने गर्न सकिन्छ। ब्लक गरियो भने ती मोबाइल सेटले सिम सपोर्ट गर्दैन र सिम सपोर्ट नहुँदा ट्रयाक गर्न सम्भव हुँदैन।
आधिकारीकरुपमा आयातगर्ने आयातकर्ता कम्पनीहरुले नेपालभित्र फोन ल्याउनुभन्दा पहिले नै प्राधिकरणमा फोनको आईएमईआई नम्बर दर्ता गरेर मात्र अनुमति लिने र भन्सारमार्फत आयात गर्न पाईन्छ।
तर व्यक्तिगतरुपमा ल्याईएका वा छिमेकी देश भारतलगायतबाट किनेर ल्याईएका र फोनहरुको आईएमईआई नम्बर भने दर्ता भएका हुँदैनन्। यदि व्यक्तिगतरुपमा ल्याईएका फोनहरु पनि आईएमईआई दर्ता गरिएको छ भने त्यस्तो फोनलाई समेत ट्र्याक गर्न सकिनेछ।
यसअघि मोबाइल लुटपाटमा संलग्न रहेको भन्दै नेपाल प्रहरीले मंगलबार नै ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले यस विषयमा थप छानबिन गरिरहेको जनाएको छ।
उक्त पसलहरुमा भएको लुटपाटमा करिब ८ करोडको मोबाइल फोन तथा विभिन्न एसेसरिज र पार्टपुर्जाहरु लुटिएको व्यवसायीहरुले जानकारी दिएका छन्।
के हो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)?
एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ। यसले मोबाइल सेटको परिचय दिने आइएमइआई (IMEI) नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल ह्यान्डसेटको जानकारी संकलन गर्नेछ।
यो प्रणालीले कम्तीमा १० करोड आईएमईआई नम्बर दर्ता गर्न सकिने बताईएको छ। यो प्रणालीमा आईएमईआई नम्बर राखिएका हरेक डिभाइसहरुको दर्ता र रेकर्ड हुनेछ।
यो प्रणालीमा दर्ता भएका आईएमईआईको आधारमा तीनवटा सूची बनाईन्छ। जसमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछ। ह्वाईट लिस्टमा हुने मोबाइल ह्यान्डसेट प्रयोग गर्न पाईने र वैधानिक हुनेछन् । त्यस्तै ब्ल्याक लिस्टमा चोरी भएका, हराएका, अवैध आयात भएका फोनका आईएमईआई नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने, उजुरी परेर छानबिन हुँदै गरेका तथा शंकास्पद नम्बरहरु ग्रे लिस्टमा रहने छन् ।
एमडीएमएस सिस्टम संचालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवा प्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ। हराएका, चोरी भएका मोबाइल ह्यान्ड सेट ट्र्याकिङ र ब्लक गर्न सकिने नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार