बाग्लुङ्गको जैमिनीको दुर्गम क्षेत्रमा टेलिकमको फोरजी सेवा

  • Technology Khabar | ३ फाल्गुन २०७९, बुधबार
बाग्लुङ्गको जैमिनीको दुर्गम क्षेत्रमा टेलिकमको फोरजी सेवा

काठमाडौं ।

नेपाल टेलिकमले बाग्लुङ्गको जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौथो पुस्ताको मोबाईल सेवा फोरजी सञ्चालनमा ल्याएको छ। टेलिकमले जैमिनी नगर र स्थानियसँगको समन्वयमा टावर निर्माण गरि टूजी र फोरजी मोवाईल सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ।

मोबाईल सेवा नहुँदा यस भन्दा पहिले त्यस क्षेत्रमा कुराकानी गर्न र ईन्टरनेट चलाउन समस्या रहेकोमा मोबाईल सेवा शुभारम्भसँगै समस्या हल भएको छ। टावर सञ्चालनमा भएपछि जैमिनी नगरपालिकाको जैदी, छिस्ती र अर्जेवाको ठुलो भू-भागमा टेलिकमको सिग्नल कभरेज पहुँच बढेको छ।

पहिले यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न कि त कटुवालको भर पर्नु पर्थ्यो कि त सम्बन्धित ठाउँमै धाउनुपर्ने वाध्यता थियो। मोवाइल फोन बोक्ने सेवाग्राहीहरु डाँडाकाँडामा पुगेर मुस्किलले कुराकानी गर्ने र मोवाईल डाटामार्फत इन्टरनेट चलाउनु पर्दा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको थियो।

बागलुङ बजार देखि दक्षिणमा अवस्थित यस क्षेत्रमा टेलिकमले पहिलो पटक मोवाइल सेवा विस्तार गरेको हो। पाहाकोट डाँडामा १४ मिटर अग्लो टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङले जनाएको छ।

सेवा सुचारु भएपछि अहिले स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र मोवाईल डेटा मार्फत ईन्टरनेट सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए। यस अघि ती दुवै गाउँमा मोबाइल सेवा थिएन। भौगोलिक विकटताका कारण अन्यत्रका टावरबाट सिग्नल पहुँच पुग्दैनथ्यो। मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो। टावर सञ्चालनमा आएपछि त्यहाँका ७ सय घर धुरी लाभान्वित भएको शर्माको भनाई छ।

जैदीसँगै छिस्ती र अर्जेवाको अधिकांश बस्तीका नागरिकले भ्वाईस र डेटा सेवा उपयोग गर्न थालेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए। उनले भने हामीले नागरिकको सञ्चार समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकमसँग समन्वय गरि सेवा सञ्चालनमा ल्याउन सफल भएको नगर उपप्रमुख शर्माले उल्लेख गरे।

त्यसको लागि नगरपालिकाले पाहाकोटमा भौतिक पूर्वाधार निर्माण र स्थानिय केन्द्रिय विद्युतसँग समन्वय गरी टावरसम्म केन्द्रिय विद्युत पुराईएको छ। टेलिकमले भौगोलिक विकटता र इन्टरनेट सेवा नपुगेका ठाउँमा टेलिकमले मोवाईल प्रयोगकर्ताको माग र डाटाको खपत बढी हुने ठाउँमा फोरजी सेवा मार्फत डाटा र गुणस्तरिय भ्वाईस सेवालाई समेत विस्तार गर्ने तयारी गरिरहेको छ।

नेपाल टेलिकमले धौलागिरीका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म १ सय २० बढि ठाउँमा टावर निर्माण गरि फोरजी सेवा सञ्चालनमा ल्याईसकेको छ । फोरजी सेवा नपुगेको र सिग्नल कभरेजको पहुँच बाहिर रहेका स्थानमा क्रमशः स्थानिय तह र नागरिक सँगको समन्वयमा बिटियस टावर निर्माण गरि सेवा सञ्चालनको तयारी भइरहेको छ टेलिकमले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार