
काठमाडौं ।
नेपालमा भुक्तानी सम्बन्धी काम गरिरहेका १६ कम्पनीहरुको अनुगमन गर्दा विभिन्न किसिमका कमजोरी रहेको देखिएको छ।
हालै प्रकाशित नेपाल राष्ट्र बैंकको भुक्तानी विभागको ‘पेमेन्ट सिस्टम ओभर साइट रिपोर्ट २०२१/२२’ १६ भुक्तानी प्रदायक कम्पनीको अनुगमन गर्दा जोखिमयुक्त कमजोरीमा रहेको देखिएको हो।
यी सेवा प्रदायक कम्पनीहरुले राष्ट्र बैंकले तोकेको नीति निर्देशन उल्लंघन गर्दै व्यवसाय गरेको रिपोर्टमा उल्लेख छ। अनुगमनको क्रममा ५ ओटा भुक्तानी प्रणाली सञ्चालक र ११ ओटा भुक्तानी सेवा प्रदायक कम्पनीहरुले केन्द्रीय बैंकको नीति निर्देशन उल्लंघन गरेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले अनुगमनको क्रममा गर्ने भुक्तानी प्रणाली सञ्चालकमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स), स्मार्ट च्वाइस् टेक्नोलोजी, फोन पे भुक्तानी सेवा, नेपाल क्लियरिङ हाउस (एनसीएचएल) नेपाल पेमेन्ट सोलुसन, सजिलो पे, गोल्डमाइन पेमेन्ट र प्रभु पे सेटलमेन्टमा विभिन्न कमजोरीहरु फेला पारेको हो।
यसका साथै भुक्तानी सेवा प्रदायकमा इसेवा प्राली, सेलकम, पे नेप, आइएमई डिजिटल सलुसन(आइएमई पे), सीजी पे, स्मार्ट कार्ड, क्यू पे र इ-नेटमा पनि जोखिमहरु भेटिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकको स्थलगत निरीक्षणमा यी कम्पनीहरुमा परिचालन, सेटलमेन्ट, प्रणालीगत र तरलताको जोखिमयुक्त कमजोरीहरु देखिएको उल्लेख छ।
साथै यी कम्पनीहरुले दैनिक कार्यमा सञ्चालक समितिको संलग्नता, पर्याप्त नीतिहरुको अभाव, संस्था सञ्चालनको लागि अपर्याप्त भौतिक पूर्वाधार, कमजोर कर्पोरेट सुशासन, संकटको समयमा व्यवसाय सञ्चालन गर्नको लागि उपयुक्त रणनीतिको अभाव, बोर्ड बैठकको लागि कार्यविधिको अभाव र शहरी क्षेत्रमा मात्रै केन्द्रित रहेर व्यवसाय सञ्चालन गरेको भेटिएको छ।
यस्तैगरी २०२१/२२ मा तोकिएका इस्यूहरूमा केही भुक्तानी सेवा प्रदायकहरु विरुद्ध कारबाही समेत गरिएको छ। जसमा पूर्व स्वीकृति बिना आयोजित वार्षिक साधारण सभा गरेको, निर्देशकहरूद्वारा फाइदा लिइएको, इजाजतपत्रको पाँच वर्ष पूरा हुनु अघि प्रवर्द्धकको शेयर बिक्री गरेको, तोकिएको समयभित्र कार्यकारी प्रमुखको नियुक्ति नहुने र पूरा नगर्ने लगायतका विषयहरु छन्।
बैंकले १६ ओटा कम्पनीहरुमा अनुमगनमा जोखिम भेटिएको बताएपनि बैंकले कुन-कुन सेवा प्रदायकहरुमा कमजोरी रहेको र कुन-कुनलाई कारबाही गरिएको भन्ने स्पष्ट तथ्यांक दिएको छैन्।
रिपोर्ट अनुसार नेपालमा २७ ओटा भुक्तानी सेवा प्रदायक, १० भुक्तानी सेवा सञ्चालक, २६ वाणिज्य बैंक, १३ विकास बैंक, १४ फाइनान्स र एक माइक्रोफाइनान्सले विद्युतीय भुक्तानी सेवा सम्बन्धी काम गरिरहेका छन्।
यस्तो छ पूर्ण रिपोर्ट-
Payment-Oversight-Report-2021-22_Final*हेडलाइन तथा समाचार सम्पादित
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार