यातायात मजदुरको आन्दोलनको मौका पारेर मोबाइल पसलबाट ८० लाखको मोबाइल लुटियो

  • Technology Khabar | २ फाल्गुन २०७९, मंगलवार
यातायात मजदुरको आन्दोलनको मौका पारेर मोबाइल पसलबाट ८० लाखको मोबाइल लुटियो

काठमाडौं ।

अपडेटः

अध्यक्ष भट्टराईले चालिसेको तीनओटा पसल लुटिएको, यस बाहेक पनि धेरै क्षति भएको र अन्य पसलहरु पनि फुटाईएको बताए। अन्य पसलहरु पनि तोडफोड र लुटपाट भएको छ र करिब ५/७ करोडको नोक्सानी भएको उनले जानकारी दिए। यस बारेमा आज १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिईने उनले उल्लेख गरे।

काठमाडौंको गोँगबुमा सोमबार हिजो भएको यातायात मजदुरले गरेको आन्दोलनको मौका पारेर मोबाइल पसलमा लुटपाट गरिएको छ।

गोँगबुको नयाँ बसपार्क स्थित लोत्से मलमा अवस्थित एक मोबाइल पसलमा राती अज्ञात समूहले लुटपाट गरेको हो।

सामाजिक सञ्जालमा समेत भिडियो भाइरल भएको उक्त मोबाइल पसलमा अज्ञात व्यक्तिहरुले लुटपाट गरेको देखिन्छ। जहाँ उक्त मोबाइल पलसबाट मानिसहरुले हातमा बोकेर सकेजति मोबाइलहरु लुटेर लगेका देखिन्छ।

सो मोबाइल पसल नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन चालिसेको रहेको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए। अध्यक्ष भट्टराईकाअनुसार सो लुटपाटमा करिब ८० लाख बराबरको मोबाइलहरु लुटिएका छन भने अन्य थप नोक्सानी समेत भएको छ।

उनकाअनुसार हुलदंगाको मौका पारेर केहि समूहले मोबाइल पसल लुटेका छन्।

“हिजो लुटिएको मोबाइल पसल हाम्रा उपाध्यक्षको हो। लुटपाटमा करिब ८० लाखको मोबाइल लुटिएको छ भने कतिपय मोबाइल तथा अन्य सामग्री बाटोमा फालिदिएका छन्,” अध्यक्ष भट्टराईले भने, उहाँले हिजै प्रहरीमा उजुरी गर्नुभएको छ।”

उनले उक्त पसलमा भएको लुटपाट र पसलको अवस्था हेर्न जाँदै गरेको भन्दै यस्तो अराजकताले मोबाइल व्यवसायीहरुलाई असुरक्षित बनाएको बताए।

“यो गंभिर घट्ना हो र यसमा सरकार संवेदनशिल हुनुपर्छ। व्यवसायीको पसल फुटाएर नै लुटपाट हुनु गंभिर घट्ना हो। हामीलाई थप डर भएको छ,” उनले भने।

सोमबार नै उक्त पसलमा महासंघको टोली जाने तयारी गरेपनि असुरक्षाका कारण अहिले जान लागेको उनले जानकारी दिए। त्यसपछि महासंघले केहि निर्णय लिने उनले बताए।

यस बाहेक पनि अन्य मोबाइल पसलहरुमा लुटपाट भएको सामाजिक संजालको भिडियोमा देखिन्छ। यस बारेमा पनि बुझ्ने अध्यक्ष भट्टराईले बताए।

यातायात मजदूरहरुले सोमबार १० बुँदे मागसहित आन्दोलन गर्ने क्रममा बेलुका अवस्था अराजक र उग्र बन्दा बालाजु/गोंगबु क्षेत्र तनाब ग्रस्त बनेको थियो।

यातायात मजदूरहरुले आज सार्वजनिक यातायात बन्द गराएका छन्। हाल सरकार र उनीहरुबीच वार्ता भईरहेको छ।

प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार