सर्लाहीमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
सर्लाहीमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन
सांकेतिक तस्बिर

काठमाडौं ।

सर्लाहीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, खसीबजार छेउमा निर्माण गरिएको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो।

उर्जा मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणले १४२ किलोवाट क्षमताको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय सवारी सञ्चालन गर्ने सवारीधनी लाभान्वित भएका छन्।

चिनियाँ ठेकेदार कम्पनीको नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक शिव अधिकारीका अनुसार चार्जिङ स्टेशनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएका छन्। ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्ने अधिकारीले बताए।

दुई ओटा चार्जिङ स्टेशनबाट एक पटकमा छ वटा सवारी चार्ज गर्न मिल्छ। चार्जिङ स्टेशनमा २०० केभीएको दुईवटा ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जिवकुमार साहले बताए।

चार्जिङ स्टेशनमा सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन।

मानवरहित चार्जिङ स्टेशनमा सेवाग्राहीले सोझै अनलाइनबाट भुक्तानी गर्ने र कुनै प्राविधिक समस्या आए आफूहरुले काठमाडौँबाटै अनलाइनमार्फत नै मर्मतको काम गर्ने चिनियाँ ठेकेदार कम्पनीको नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक अधिकारीले बताए। उनका अनुसार ग्राहकले अनलाइनमार्फत बुझाएको पैसा सोझै नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा हुन्छ।

चार्जिङ स्टेसनले समयअनुसार चार्जिङ शुल्क समेत निर्धारण गरेको छ। साँझ ५ बजेदेखि राति ११ बजेसम्म पिकआवरमा प्रतियुनिट १० रुपियाँ ४४ पैसा, राति ११ बजेपछि बिहान ५ बजेसम्म ६ रुपियाँ ६० पैसा र बाँकी समयमा रिचार्ज गर्दा प्रतियुनिट आठ रुपियाँ २८ पैसा शुल्क निर्धारण गरिएको छ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार