कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैङ्कको सफ्टवेयर परीक्षण

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैङ्कको सफ्टवेयर परीक्षण
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले एक हप्ताअघिबाट राजस्व सङ्कलन कार्यलाई थप प्रभावकारी बनाउन कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृतसमेत गरेको छ।

कामपाको वडा नम्बर ५ बाट सुरु गरिएको उक्त एकीकृत व्यवस्था प्रभावकारी भए ३२ वटै वडाबाट त्यस किसिमले सेवा विस्तार गर्ने राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले उल्लेख गरेका छन्। सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क तथा दस्तुर तिर्दा बैङ्क भौचर भर्नु पर्दैन।

“वडाको लेखाशाखामा गएर विवरण भरेपछि त्यो विवरणबाट बैङ्क भौचर सिर्जना हुन्छ, त्यसका आधारमा बैङ्कमा अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिन्छ, बैङ्कमै गएर नगद बुझाउने हो भने पनि त्यहाँ गएर भौचर भर्नुपर्दैन, फोन नम्बर दिएमात्र पुग्छ,” उनले भने।

राजस्व असुलीका लागि सहज बनाउनकै लागि महानगरपालिकाले २०७७ साल असोज १ गतेदेखि करदाताको सङ्ख्यालाई डिजिटल प्रणालीमा राखेको छ। त्यसमा हालसम्म तीन लाख एक हजार छ सय २२ करदाता सामेल भएका छन्।

कामपाले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि कर नतिरेका करदाता पछिल्लो समय विवरणसहित सम्पर्कमा आउने र नियमानुसार कर तिर्न थालेको कामपाको भनाइ छ। कामपाले ठूला करदाताबाट विगत लामो समयदेखिको करिब रु ५० करोड असुल गर्नुपर्ने जनाएको छ।

महानगरले गत वर्षदेखि लामो समयदेखिको बक्यौता  रकम असुल गर्न ताकेत गर्न थालेको हो। ठूला करताताबाटै राजस्व असुल हुन छोडेपछि महानगरले उनीहरुको नाम सार्वजनिक गरी विवरणसहित आउन आग्रह गरेको थियो।

यसैबीच चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ। त्यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो। चालू आवका लागि कामपाले रु १० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार