
काठमाडौं ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पौडेलले अटोमोबाइल सबैका लागि आवश्यक बन्दै गएको बताएका छन्।
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको ४६ औं वार्षिक साधारण सभामा उप प्रधानमन्त्री पौडेलले अहिले सवारी साधन विलासिताका वस्तु नभई आवश्यकताको वस्तु भएको स्पष्ट रुपमा औंल्याए।
उनले कुनै समय मोबाइल फोनलाई पनि विलासिताको वस्तु मानिएको उदाहरण दिँदै अहिले मोबाइल सबैैको अनिवार्य बने जसरी समयक्रम अनुसार एक पटकको विलासी वस्तु सँधैको विलासी नहुने धारणा व्यक्त गरे। उनले सवारी साधनलाई विलासी भनिने गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए।
मन्त्री पौडेलले द्रुत गतिमा विद्युतिय सवारीको उपयोग बढ्नुपर्ने आवश्यकता औंल्याउँदै यसो हुन सकेको खण्डमा इन्धनका लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने जानकारी दिए।
नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताएका छन्।थापाले सरकारको बुझाइमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेको भएपनि पछिल्ला वर्षमा नेपालमा नै सवारी साधनको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत सुरुवात भइसकेको, ब्याट्री र टायर ट्युब लगायतका सामान नेपाल मै उत्पादन भइरहेको बताउँदै अटोमोवाइल स्पेयर पार्टस र एसेसरिज उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराए।
सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल, र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषदका सभापति अञ्जन श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राखेका थिए।
प्रकाशित: २९ माघ २०७९, आईतवार