शाओमी फोन बेचेरै वत्सल इम्पेक्सले एक वर्षमा कमायो ५ अर्ब रुपैयाँ, क्रेडिट रेटिङ्ग भने खस्कियो

  • Technology Khabar | २९ माघ २०७९, आईतवार
शाओमी फोन बेचेरै वत्सल इम्पेक्सले एक वर्षमा कमायो ५ अर्ब रुपैयाँ, क्रेडिट रेटिङ्ग भने खस्कियो

काठमाडौं ।

शाओमीका स्मार्टफोन र अन्य उत्पादन बेच्दै आएको शारडा ग्रुप अन्तरगतको वत्सल इम्पेक्स प्रालिले व्यवसायबाट सन् २०२२ मा ५ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालकाअनुसार सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी ७ प्रतिशतले घटेको छ। सन् २०२१ मा वत्सल इम्पेक्सको आम्दानी ५ अर्ब ४४ करोड ३० लाख रहेको थियो।

रिपोर्टअनुसार ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र कर अघि कम्पनीको नाफा भने घटेको देखिएको छ। यस्तो नाफा कुल आम्दानीको ४.४ प्रतिशत रहेको छ। जुन सन् २०२१ मा ६.१ प्रतिशत थियो । यस्तै कम्पनीले लिने कर्जाको ब्याज भुक्तानी गर्ने क्षमता घटेर कुल कर्जाको ४.१ गुणा रहेको छ। गतवर्ष यो १५ गुणामा रहेको थियो।

कम्पनीका वित्तीय सूचांकमा आएको परिवर्तन र आम्दानीमा देखिएको कमीका कारण कम्पनीको क्रेडिट रेटिङमा पनि असर परेको छ। कम्पनीले  १ अर्ब ८० करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ भने इक्रा नेपालले अल्पकालीन कर्जाका लागि ए३ रेटिङ दिएको छ।

यसअघि १ अर्ब ५० करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले ए३ प्लस रेटिङ प्राप्त गरेको थियो।

सन् २०१२ मा स्थापना भएको वत्सल इम्पेक्सले शाओमी बाहेक इजभीज, टिकवाच र फिटबिटका उत्पादनहरु पनि बिक्री वितरण गर्दै आएको छ।

इक्राको तथ्यांकअनुसार सन् २०२२ को वित्तीय वर्षमा आयातको आधारमा शाओमी दोस्रो ब्राण्ड रहेको थियो।जसअनुसार आयात भएका मोबाइल फोनमध्ये शाओमीले १८ प्रतिशत हिस्सा ओगटेको छ।

कम्पनीका काठमाडौंभर १४ डिलर र १०० रिटेलर स्टोरहरु रहेका छन्। शारडा ग्रुपका बिनित कुमार शारडा कम्पनीका अध्यक्ष र नितेश कुमार मुङगाडा प्रबन्ध निर्देशक रहेका छन् भने कम्पनीमा ६६ प्रतिशत सेयर शारडा ग्रुपको रहेको छ।

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोक भन्दा बाहिरको बजारमा शाओमी फोन कारोबारका लागि रमेश कर्प अन्तरगतको टेलि डाइरेक्ट प्रालिले जिम्मा पाएको छ।

प्रकाशित: २९ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...