धनुषामा मौसम मापन यन्त्र जडान

  • Technology Khabar | २८ माघ २०७९, शनिबार
धनुषामा मौसम मापन यन्त्र जडान

काठमाडौं ।

धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा मौसम मापन यन्त्र जडान गरिएको छ। जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपत् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्राप्त गर्न मौसम मापन यन्त्र जडान गरिएको हो।

संयुक्त राष्ट्रसनीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले उक्त यन्त्र दुबै पालिकामा शुक्रबार जडान गरिएका छन्। पैरबी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले मौसमका कारण कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न यन्त्र जडान गरिएको बताए। यो यन्त्र किसानका लागि निकै प्रभावकारी हुने उनले जानकारी दिए।

मौसमबारे जानकारी नहुँदा कहिलेकाहीँ भित्र्याउन लागेको अन्नबाली वर्षा, असिना र हुरोले क्षति पुन्याउँछ। यो यन्त्रले एक हप्ताअघि नै मौसमबारे जानकारी दिने हुँदा किसानले अन्नबाली व्यवस्थापन गर्ने समय पाउँछन्। अध्यक्ष यादवले भने, “यन्त्रले वर्षा, हावाहुरी, असिना र तापक्रमलगायत समग्र मौसमबारे एक साताअघि नै सूचना दिन्छ।”

उपकरणले मौसमसम्बन्धी जानकारी दिने मिथिला नगरपालिकाका सूचना अधिकारी दिपेश काफ्लेले जानकारी दिए। उनका अनुसार मौसम उपकरणले सामान्यतः बाहिरी र भित्रिको तापक्रम, वायुको चाप र दिशा, प्रकाश र वर्षाको अवस्थालगायत मौसम मापन गरेर सूचना प्रवाह गरिने छ।

उपकरणले मौसमको पूर्वानुमान तथा जलवायु परिवर्तनबारे समेत सूचना प्रवाह गर्ने भएकाले विपद व्यवस्थापनको तयारीमा थप मद्दत पुग्ने मिथिला नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ७ का वडाध्यक्ष रामबहादुर स्याङ्दनले बताए।

मौसमसम्बन्धी वर्तमान र पूर्व जानकारी दिने हुँदा सोही अनुसार सतर्कता अपनाएर सम्भावित क्षति कम गर्न सकिने तथा आम नागरिकलाई पनि मौसमको अवस्थाबारे जानकारी पाउन सहज हुन्छ। यन्त्र जडान गरिएको एकाइबाट चार किलोमिटर परसम्मको मौसमबारे सूचना दिन्छ।

यन्त्रले पठाउने सूचना पालिकाको आईटी खण्डसँग जोडिएको छ। अब यो सूचनालाई चारैतिर फैलाउन रेडियो र टेलिभिजनबाट प्रसारण तथा अगुवा किसानको मोबाइलमा एसएमएसद्वारा जानकारी पठाइने बताइएको छ।

धनुषाको दुईवटा पालिकासहित महोत्तरीको बर्दिबास, गौशाला, औरही र भाडा नगरपालिकामा समेत मौसम मापन यन्त्र जडान गरिने योजना छ। गोरखापत्रबाट

प्रकाशित: २८ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार