
काठमाडौं ।
मनोरञ्जन व्यवसायसँग आबद्ध वाल्ट डिज्नीले ७ हजार कामदारलाई हटाउने निर्णय गरेको छ। कम्पनीको सीईओमा पुनः नियुक्त भएका बब इगरको नेतृत्वमा ठूलो पुनर्संरचना भइरहेको छ। कम्पनीले लगभग ५.५ अर्ब डलर लागत बचत गर्ने र यसको स्ट्रिमिङ सेवालाई लाभदायक बनाउने लक्ष्य राखेको छ।
डिज्नीको घोषणापछि कम्पनीको शेयर मूल्य चार प्रतिशतभन्दा बढीले बढेको छ। कम्पनीको कुल श्रमशक्तिको करिब ३.६ प्रतिशत कामदारलाई निकालिने भएको छ। कम्पनीका सक्रिय लगानीकर्ता नेल्सन पेल्ट्जले भने कि डिज्नीले धेरै खर्च गरिरहेको छ। यसपछि कम्पनीले शेयरधनीलाई लाभांश पुनर्स्थापना गर्ने प्रतिबद्धता समेत जनाएको छ।
कम्पनीले केही क्षेत्रमा पुनर्संरचनाको तयारीसमेत गरेको छ। यसमा चलचित्र, टेलिभिजन र स्ट्रिमिङका साथै खेलकुद च्यानल ईएसपीएन समावेश छन्। “पुनर्संरचनाले हाम्रो व्यवसायको लागत घटाउनेछ। हामी चुनौतीपूर्ण वातावरणमा दक्षताका साथ सञ्चालन गर्न प्रतिबद्ध छौं,” इगरले कन्फ्रेन्स कलमा भने।
उनले स्ट्रिमिङ सेवा कम्पनीको उच्च प्राथमिकतामा रहेको बताए। इगरले कम्पनीले कोर ब्रान्ड र फ्रान्चाइजीहरूमा बढी ध्यान दिने बताएका छन्। यसका साथसाथै सामान्य मनोरञ्जन सामग्रीलाई पनि तीब्र गतिमा बढाइनेछ । इगरले कम्पनीको बोर्डलाई वर्षको अन्त्यसम्ममा शेयरधनीहरूलाई लाभांश पुनर्स्थापना गर्न आग्रह गर्ने बताए।
प्रकाशित: २७ माघ २०७९, शुक्रबार