गुगलको एआई च्याटबोट बार्डले गलत जवाफ दिँदा कम्पनीले बजारमा गुमायो १०० अर्ब डलर

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
गुगलको एआई च्याटबोट बार्डले गलत जवाफ दिँदा कम्पनीले बजारमा गुमायो १०० अर्ब डलर

काठमाडौं ।

गुगलको हालै सार्वजनिक गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता)मा आधारित च्याटबोट ‘बार्ड’ ले गलत जवाफ दिएपछि कम्पनीका लगानीकर्ताहरु निराश भएका छन्।

बुधबार एकै दिन गुगलको सेयर ७ प्रतिशतले घटेसँगै कम्पनीलाई एकसय अर्ब डलर बढी नोक्सानी भएको रोयटर्सले लेखेको छ।

पछिल्लो समय चर्चित भएको च्याटजीपीटीले गुगललाई टक्कर दिएसँगै कम्पनीले आफ्नै एआई च्याटबोट लन्च गरेको थियो। तर ट्विटरमा रिलिज भएको च्याटबोट ‘बार्ड’ को प्रमोस्नल भिडियोमा नै च्याटबोटले गलत जवाफ दिएपछि गुगलको सेयरमा उच्च गिरावट आएको हो।

अल्फाबेटले ट्विटर मार्फत बार्डको छोटो जीआईएफ भिडियो पोस्ट गर्यो, जहाँ यसले जटिल विषयहरूलाई सरल बनाउन मद्दत गर्ने आश्वासन दियो, तर यसको सट्टा गलत जवाफ दियो।

भिडियोमा च्याटबोटलाई प्रश्न गरिएको छ। जेम्स वेभ स्पेस टेलिस्कोपले गरेका खोजका बारेमा ९ वर्षको बच्चालाई के जानकारी दिने ? यस प्रश्नको जवाफमा बार्डले टेलिस्कोप सर्वप्रथम पृथ्वी बाहिरका ग्रह तथा भूउपग्रहहरुको तस्वीर कैद गर्न प्रयोग गरिएको र सन् २००४ मा युरोपियन भेरी लार्ज टेलिस्कोपले सौर्य मण्डलका पृथ्वी बाहेकका अन्य ग्रहको तस्वीर लिई इतिहास रचेको बताएको थियो।

गुगलले प्रश्न र जवाफ सहितको प्रोमो भिडियो ट्विटरमा पोस्ट गरेपछि न्युक्यासल युनिर्भसिटीका क्रिश ह्यारिसनले गुगलले फ्याक्ट चेक नगरी पोस्ट गरेको बताउँदै रिट्वीट गरेका थिए।

तर बार्डको प्रतिस्पर्धी च्याटजीपिटीले जटिल किसिमका प्रश्नहरुको पनि सहि, सहज र सजिलै जवाफ दिँदै आएको छ।

बार्डले दिएको गलत जवाफका कारण कम्पनीका सेयर लगानीकर्तामा अन्योलता बढेको छ। जसकारण कम्पनीको पूँजीकरणमा एकै दिनमा १०० अर्ब डलर बढीको कमी आएको छ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...