
काठमाडौं ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समुद्घाटन गरिन्।
मोबाइल एपमार्फत पानसमा बत्ति बालेर मन्त्री शर्माले २८औं संस्करणको क्यान इन्फोटेक औपचारिक रुपमा उद्घाटन गरिन्। सो अवसरमा ड्रोनबाट पुष्पवृष्टि समेत गरिएको थियो।
क्यानकाअनुसार प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश-विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको छ। यसअन्तर्गत फिन्टेक , इन्टरनेट सेवा प्रदायक, टेलिकम सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत छन् ।
त्यस्तै यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। उनका अनुसार मेलामा कुल २०० स्टल रहेका छन् ।
मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका छन् । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट योजना पनि सार्वजनिक गरेका छन् । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका छन् ।
साथै क्यान इन्फोटेक अवसर पारी नेपाल पर्यटन बोर्डको सभाहलमा माघ २५ गतेदेखि २८ गतेसम्म क्यान आईसीटी सम्मेलन हुँदैछ। यसअन्तर्गत माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सेमिनार हुनेछ। माघ २६ गते ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम गरी दुई विषयमा सेमिनार हुनेछ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ।
प्रकाशित: २४ माघ २०७९, मंगलवार