
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट दिवसको अवसर पारेर भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। प्राधिकरणले सुरक्षित इन्टरनेट दिवस २०२३ मनाउने सन्दर्भमा ‘सुरक्षित इन्टरनेटको लागि हातेमालो’ शीर्षकमा जनचेतनामुलक भिडियो प्रतियोगिता गर्न लागेको हो।
भिडियो प्रतियोगितामा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका सात ओटै प्रदेशका बालबालिका तथा किशोरकिशोरीहरुले सहभागिता जनाउन सक्ने प्राधिकरणको सूचनामा उल्लेख छ।
प्राधिकरणका निर्देशक बिजयकुमार रोयले सुरक्षित इन्टरनेट दिवसको अवसरमा जनचेतना जगाउन यो प्रतियोगिता आयोजना गरिएको बताए।
सुरक्षित इन्टरनेट दिवसका लागि दूरसञ्चार प्राधिकरणले भिडियो प्रतियोगिता आयोजना गर्ने:
- प्रतियोगीले पठाउने भिडियोको अवधि अधिकतम २ मिनेटसम्मको मात्र हुनुपर्नेछ र भिडियो :MP4 Format मा हुनुपर्नेछ।
- विभिन्न प्रदेशका प्रतियोगिले आफ्नो प्रदेश अनुसार तल उल्लेखित इमेल ठेगानामा आफ्नो भिडियो पठाउनु पर्नेछ।
- माथि उल्लेखित विषयमा प्राप्त भिडियोहरुलाई विशेषज्ञ समितिबाट मूल्यांकन गराई प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन (३) भिडियोहरु छनौट गरिनेछ र छनौटमा परेको प्रतियोगीलाई प्रशंसापत्रको साथै नगद पुरस्कार प्रदान गरिनेछ । साथै सहभागी सबै बालबालिका तथा किशोरकिशोरीहरुलाई समेत प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
- भिडियो बनाउँदा व्यक्तिगत, सामूहिक (बढीमा ४ जना सम्मको समूहमा वा बाल क्लब / विद्यालय मार्फत ) बनाउन सकिनेछ।
- भिडियो नेपाली वा अंग्रेजी भाषामा बनाउनुपर्नेछ ।
- प्रतियोगीको पहिचानको लागि भिडियोमा प्रतियोगीको दृष्य वा फोटो समावेश भएको हुनुपर्नेछ।
- भिडियो पहिले नै अन्त कतै प्रकाशन नभएको हुनुपर्नेछ।
- भिडियो बनाउन विषयगत क्षेत्रभित्र रहेर आफ्नो रुची अनुसारको विषयमा कथा, कविता, गित, नाटक, वक्तृत्वकला लगायतका रचनाहरुको माध्यमबाट आफ्नो सिर्जनशीलता प्रयोग गरी तयार गर्न सकिनेछ।
- भिडियो पठाउँदा आफ्नो जन्ममिति खुल्ने परिचयपत्र र फोटोको डिजिटल प्रति समेत पठाउनु पर्नेछ।
- भिडियो बनाउँदा जाति, भाषा, लिङ्ग, भुगोल वा अन्य कुनै पनि आधारमा आक्षेप लाग्ने वा भेदभाव हुने विषयवस्तु समावेश गर्न पाईनेछैन।
- प्रतियोगीले आफ्नो भिडियो मिति २०७९ फागुन २३ गते राति ११:५९ भित्र (७ मार्च २०२३ ११:५९ भित्र) माथि उल्लेखित इमेल ठेगानामा पठाइसक्नुपर्नेछ।
- प्रतियोगीले थप जानकारीको लागि तल उल्लेखित इमेल ठेगाना वा फोन नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
प्रकाशित: २४ माघ २०७९, मंगलवार