सरकारी निकायले प्रयोग गर्ने सफ्टवेयरकै सुरक्षा छैन् -सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्मा

  • Technology Khabar | २४ माघ २०७९, मंगलवार
सरकारी निकायले प्रयोग गर्ने सफ्टवेयरकै सुरक्षा छैन् -सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्मा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी निकायले प्रयोग गरिरहेका सूचना प्रविधि र सफ्टवेयरको सुरक्षा साँचो सरकारसँगै नभएको बताएकि छन्।

क्यान इन्फोटेक २०२३ को उदघाटन गर्दै सञ्चार मन्त्री शर्माले सरकारी निकायका कागजात र सफ्टवेयर नै सुरक्षित नभएको र त्यसको जानकारी कहाँ जान्छ भन्ने थाहा नहुने अवस्था रहेको बताईन्।

“हाम्रा धेरै डाटा सेन्टर छन्। तर त्यसको सुरक्षा छैन्।आईटीको प्रयोग सरकारी निकायमा पनि भयो तर त्यसको मेन की हामीसँग छैन्, जानकारी कहाँ जान्छ, भन्ने थाहा छैन्,” उनले भनिन्, “हामी राष्ट्रिय सुरक्षाको कुरा गर्दछौं तर मन्त्रालयको संवेदनशिल क्षेत्रमा सफ्टवेयरहरु राखिएको छ तर जानकारी कहाँ जान्छ थाहा छैन्।”

उनले सूचना प्रविधिको क्षेत्रमा मानव संसाधनको विकास गरिनुपर्नेमा जोड दिईन् । यसका साथै उनले सूचना प्रविधिका साना साना कामबाट अर्बौं रुपैयाँ देश बाहिर जाने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताईन्।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको सूचना प्रविधि क्षेत्र व्यवसायीक र सक्षम भएको बताए। उनले सरकारी निकायले नेपाली सूचना प्रविधिका कम्पनीहरुलाई नपत्याएको र उपयोग गर्न नमान्ने गरेको गुनासो गरे।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधिको विकास गर्नका लागि पिपिपि मोडलमा जानुपर्ने बताए ।उनले विदेशी आईटी कम्पनीलाई नेपालमा एजेन्सी दिएर मात्र यो क्षेत्रको विकास नहुने भन्दै नेपाली कम्पनीहरुको समेत क्षमता बढाउन ध्यान आग्रह गरे।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा आजदेखि शुरु भएकोक्यान इन्फोटेक मेला माघ २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुँदैछ।

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वसाधारणलाई रु. १०० र विद्यार्थीलाई रु.५० प्रवेश शुल्क निर्धारण गरिएको छ।

क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ। यसलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने बताईएको छ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रबर्द्धन गरिएको छ।

साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने आयोजक संस्था क्यान महासंघले जानकारी दिएको छ।

प्रकाशित: २४ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार