
काठमाडौं ।
सामसङले युट्युबमा सर्ट फिल्म रिलिज गरेको छ। एकेडेमी अवार्ड विजेता निर्देशक सर रिड्ले स्कटको ‘बिहोल्ड’ नामक उक्त फिल्म पूर्णतया ग्यालेक्सी एस२३ अल्ट्राले खिचिएको जानकारी दिएको छ।
उक्त फिल्मको कथा वा विषय-वस्तु अलि भिन्न रहेको बताइएको छ। सो फिल्म एक व्यक्तिको बारेमा रहेको र व्यक्तिलाई एक खराब अर्थको मान्छेहरुको समूहले पिछा गरेको देखाइएको छ। खराब समूहबाट पिछा छुटाएर तिनीहरूदेखि लुक्ने क्रममा उक्त व्यक्तिले एउटा घोडा फेला पार्छ र त्यसलाई पछि गएर स्वतन्त्र रुपमा छोडिदिन्छ। त्यसैका साथ उक्त फिल्म केहि मार्मिक तर अन्ततः सकारात्मक भावना संग समाप्त हुन्छ।
फिल्म सम्पूर्ण रुपमा ग्यालेक्सी एस२३ अल्ट्राको प्रयोग गरेर खिचिएको जीएसएमएरिनाले उल्लेख गरेको छ। यद्यपी फोनको सहयोगार्थ पर्याप्त मात्रामा व्यावसायिक उपकरणहरू पनि प्रयोग गरिएको बताइएको छ। त्यस्तै फुटेजहरू स्वाभाविक रूपमा व्यावसायिक सफ्टवेयर प्रयोग गरेर सम्पादन गरिएको उल्लेख छ। साथै उक्त फिल्ममा स्कट र सामसङले सिनेमेटोग्राफर फ्लाभियो लाबियानोको सेवाहरु पनि प्रयोग गरेको बताइएको छ।
प्रकाशित: २४ माघ २०७९, मंगलवार