Technology Khabar २४ माघ २०७९, मंगलवार

काठमाडौं ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले मंगलबार आजदेखि आयोजना गर्न लागेको क्यान इन्फोटेक २०२३ को मुख्य प्रायोजन गरिदिए बापत प्रायोजक कम्पनीका प्रमुख अधिकारीलाई आफ्नो संस्थाको उपाध्यक्ष पद ‘उपहार’मा दिएको छ।
क्यान इन्फोटेकको मुख्य प्रायोजन गर्ने इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुबंशीलाई इन्फोटेक प्रायोजन गरिदिए बापत क्यान महासंघले आफ्नो संस्थाको उपाध्यक्ष बनाएको स्रोतले जानकारी दियो।
क्यान महासंघमा रहेको ‘सेक्टोरल’ उपाध्यक्षको रुपमा उनलाई चयन गरिएको क्यान स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दिएको हो। गएको साता बसेको क्यान महासंघको कार्यसमिति बैठकमार्फत उनलाई ‘सेक्टोरल’ उपाध्यक्ष चयन गरिएको विभिन्न कार्यसमिति सदस्यहरुले जानकारी दिँदै पुष्टि गरेका छन्।
एक कार्यसमिति सदस्यले प्रायोजन गरे बापत पद दिनुलाई चिठ्ठामा दिएको वा उपहार दिएजस्तो भएको बताए।
“अहिले उहाँलाई इन्फोटेक प्रायोजन गरिदिए बापत उपाध्यक्ष दिनुपर्ने भनियो। भोली इन्फोटेकका सबै किसिमका प्रायोजकहरुले क्यान महासंघमा पद मागे भने उनीहरुलाई के गर्ने ?” ती सदस्यले टेक्नोलोजीखबरसँग भने।
बैठकमा क्यान महासंघका अध्यक्षले नाम प्रस्ताव गर्ने प्रचलनअनुसार रंजित पोद्दारले उनको नाम सेक्टोरल उपाध्यक्ष पदका लागि प्रस्तावित गरेका थिए।
बैठकमा अध्यक्षको प्रस्तावलाई समर्थन गर्दै महासंघका कोषाध्यक्ष नविन जोशीले इन्फोटेकलाई प्रायोजन गरिदिए बापत उनलाई उपाध्यक्ष बनाउनुपर्ने बताएको अर्का एक कार्यसमिति सदस्यले जानकारी दिए।
“हाम्रो क्यान इन्फोटेकलाई प्रमुख प्रायोजन गर्नुभएको हुँदा उहाँलाई उपाध्यक्ष बनाउनु पर्छ,” कोषाध्यक्ष जोशीले बैठकमा भनेको कुरा ती कार्यसमिति सदस्यले जानकारी दिए।
कोषाध्यक्ष जोशी प्रसिद्ध नेपाली टेक कम्पनी मर्कन्टाइल ग्रुप अफ कम्पनीजसँग आबद्ध रहेका छन्। स्मरणरहोस् केहि दिन अघि इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल ग्रुप अफ कम्पनीजअन्तरगतको मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्यको घोषणा गरिएको थियो। त्यसबेला बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको जानकारीसमेत दिईएको थियो।
उक्त सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ। मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुने बताईएको थियो।
सम्बन्धित समाचार-
इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्स बीच सहकार्य, पुमोरी सफ्टवेयर इन्फोडेभलपर्समा मर्ज
त्यसैगरी क्यान महासंघको सो बैठकमा वरिष्ठ उपाध्यक्ष खुशल रेग्मीले समेत रघुबंशीलाई समर्थन गर्दै इन्फोटेक प्रायोजन गर्नेलाई नै उपाध्यक्ष बनाउनुपर्ने जिकिर गरेको क्यान स्रोतको भनाई छ।
अर्का तेस्रो एक कार्यसमिति सदस्यले रघुबंशी बाहेक सेक्टोरल उपाध्यक्षमा योग्य अन्य कोहि नभएको हुँदा उनलाई नै सर्वसम्मत चयन गरिएको टेक्नोलोजीखबरसँग दाबी गरे।
“उहाँ बाहेक सेक्टोरल उपाध्यक्ष हुने अरु कोहि योग्य कार्यसमिति सदस्य थिएनन्। त्यसले उहाँलाई उपाध्यक्ष बनाउनु स्वभाविक हो,” उनले जिकिर गरे, “उहाँलाई सर्वसम्मत चयन गरिएको हो। तर प्रायोजन गरे बापत उपाध्यक्ष बनाउने भनेर बैठकमै भन्नु ठिक होईन्।”
यसअघि क्यान इन्फोटेक २०२३ को तयारी बारे जानकारी दिन आयोजित कार्यक्रममा प्रायोजक कम्पनीका आधारमा बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम नै ‘’इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’’ रहेको जानकारी दिईएको थियो।
त्यसबेला क्यानका एक पदाधिकारीले अनौपचारिक कुराकानीमा क्यान इन्फोटेकको मुख्य प्रायोजन गर्छु भन्ने एक इन्टरनेट सेवा प्रदायकले अन्तिम समयमा धोका दिएको भन्दै इन्फोडेभलपर्सले प्रायोजन गरिदिँदा क्यानको उद्दार गरेजस्तै भएको बताएका थिए।
सम्बन्धित समाचार-
२० वर्षअघि रघुबंशीको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको बताईएको छ। माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन कम्पनीले महत्वपुर्ण योगदान दिएको दाबी छ।
त्यसैगरी सोहि बैठकले डा. अभिजित गुप्तालाई सचिव पदमा चयन गरेको स्रोतले जानकारी दियो। उनले सो पदका लागि कार्यसमिति सदस्यहरु सुभाष खड्का र अर्का एक उम्मेदवार सदस्यलाई पराजित गरेको बताईएको छ। स्रोतकाअनुसार उनलाई क्यानका महासचिव चिरन्जिबी अधिकारीलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्नेगरी ल्याईएको हो।
“सचिवमा उनीपनि रुचाईएका उपयुक्त पात्र होईनन् तर अन्य दुईलाई सो पदका लागि मतदानमा हराउन सक्ने तथा भविश्यमा महासचिवलाई चेक एण्ड ब्यालेन्स गर्ने व्यक्तिको रुपमा उनलाई ल्याईएको हो,” क्यानका अर्का एक कार्यसमिति सदस्यले भने।
डा. गुप्ताले यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा आईटी विज्ञको रुपमा समेत काम गरेको अनुभव रहेको बताईएको छ। त्यस्तै २०७९ बैशाखमा राष्ट्रिय साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरको सञ्चालन तथा व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डा. गुप्ता आबद्ध परामर्शदाता कम्पनीलाई परामर्शको जिम्मा दिएको थियो।
सम्बन्धित समाचार-
साइबर सुरक्षा मनिटरिङ तथा अपरेसन सेन्टरको लागि परामर्शदाता नियुक्त
रघुबंशी उपाध्यक्षमा र डा. गुप्ता सचिवमा चयन भएपनि क्यान महासंघको आधिकारी वेबसाइटमा भने सोमबार राती अबेरसम्म उनीहरुको पदको बारेमा अपडेट गरेकाे देखिँदैन्। वेबसाइटमा दुबैजना कार्यसमिति सदस्य मात्र भएको जानकारी राखिएको देखिन्छ।
आजदेखि क्यान इन्फोटेक २०२३ हुँदै
यसैबीच सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा माघ २४ गते आजदेखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २८औँ संस्करणको क्यान इन्फोटेक मेला हुँदैछ।
क्यान इन्फोटेकको अवलोकनका लागि सर्वसाधारणलाई रु. १०० र विद्यार्थीलाई रु.५० प्रवेश शुल्क निर्धारण गरिएको छ।
क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ। यसलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने बताईएको छ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रबर्द्धन गरिएको छ।
साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने आयोजक संस्था क्यान महासंघले जानकारी दिएको छ।
प्रकाशित: २४ माघ २०७९, मंगलवार