‘सुत्र’मा राजस्व मोडल सुरु

  • Technology Khabar | २३ माघ २०७९, सोमबार
‘सुत्र’मा राजस्व मोडल सुरु

काठमाडौं ।

महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा राजस्व मोडल सञ्चालनमा आएको हो।

आइतबार आयोजित एक कार्यक्रमबीच उक्त मोडलको आरम्भ गर्दै  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै यो मोडलको सही ढङ्गले सञ्चालन गर्न निर्देशन दिए।  त्यस्तै उनले आन्तरिक लेखापरीक्षण तथा सरकारी लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिए।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तोयम रायाले सञ्चालनमा रहेका प्रणालीको निरन्तरताका लागि स्रोतको सुनिश्चितता एवं सञ्चित कोष व्यवस्थापन आवश्यक रहेको बताए। सुत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही भएको उनको भनाइ थियो । त्यस्तै उनले कार्यालयबाट सञ्चालनमा रहेका प्रणालीको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सधैँ जस्तै सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

राजस्व सचिव डा. रामप्रसाद घिमिरेले सरकारी निकायमा निष्क्रिय रहेका खाताको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताए। त्यसका लागि राजस्व मोडलको सफल सञ्चालन आवश्यक हुने उनको भनाइ थियो ।

आइतबारदेखि सञ्चालनमा आएको राजस्व मोडल प्रणाली धुलिखेल नगरपालिकामा पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसबाहेक अन्य स्थानीय निकायमा क्रमशः लागू गर्दै लैजाने कार्यालयको लक्ष्य छ।

यो प्रणाली सञ्चालनमा आएसँगै वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता, सेवा प्रवाहमा सहजता, खर्चमा मितव्ययिता र वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...