
काठमाडौं ।
पाकिस्तानले फ्री एनसाइक्लोपीडिया प्लेटफर्म विकिपिडियामाथि प्रतिबन्ध लगाएको छ। देशले विकिपिडियालाई ईश्वरनिन्दा सम्बन्धित सामग्री हटाउन आग्रह गरेको तर ४८ घन्टा बितिसक्दा पनि विकिपिडियाबाट उक्त सामग्री नहटाएपछि पाकिस्तानमा विकिपिडियामाथि प्रतिबन्ध लगाइएको हो।
नियामक निकाय पाकिस्तान टेलिकम प्राधिकरणले फ्री इन्साइक्लोपीडिया प्लेटफर्ममा यो प्रतिबन्ध लगाएको ट्विटरमार्फत जानकारी दिएको छ।
विकिपिडियामाथि प्रतिबन्ध लगाउने सम्बन्धमा पाकिस्तान टेलिकम अथोरिटी (पीटीए) ले विकिपिडियाले दिएको ४८ घण्टाको अल्टिमेटम पालना नगरेको भन्दै प्रतिबन्ध लगाउनुपरेको जिकिर गरेको छ।
उता बीबीसीको रिपोर्टका अनुसार विकिपिडिया चलाउने विकिमिडिया फाउन्डेसनले विकिपिडियामाथि प्रतिबन्ध लगाउनुले पाकिस्तानी जनताहरु ज्ञानको सबैभन्दा ठूलो भण्डारबाट वञ्चित हुने बताएको छ। रिपोर्टका अनुसार पाकिस्तानमा ईश्वरनिन्दालाई निकै संवेदनशील र भडकाऊ मामिला मानिन्छ।
यसअघि पनि पाकिस्तानले टिन्डर, फेसबुक र युट्युब जस्ता प्लेटफर्ममा पटक पटक प्रतिबन्ध लगाएको छ।
प्रेस विज्ञप्तीकाअनुसार पाकिस्तान दूरसञ्चार प्राधिकरणका प्रवक्ता मलाहत ओबेदले विकिपिडियालाई बारम्बार गरिएको पत्राचारको जवाफ नदिएको उल्लेख छ। जसमा ईश्वरनिन्दासँग सम्बन्धित सामग्री हटाउन भनिएको थियो।
अब पाकिस्तानमा विकिपिडियामा प्रतिबन्ध सबै स्थानीयरुपमा गैरकानूनी विवादास्पद सामग्री प्लेटफर्मबाट नहटाएसम्म कायम रहने बताईएको छ।
प्रकाशित: २३ माघ २०७९, सोमबार