Technology Khabar २३ माघ २०७९, सोमबार
काठमाडौं ।
“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ”–यस नाराका साथ माघ २४ गते मंगलबारका दिन नेपालमा र विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँदैछ। यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनीहरू, सरकार र नीति निर्माताहरूलाई राम्रो इन्टरनेट सिर्जना गर्नका लागि मद्दत गर्न एकजुट गर्नेछ।
बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत संस्था चाइल्ड सेफनेटद्वारा सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको जनाएको छ।
यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरु, विद्यालयहरु, अभिभावकहरु, सामाजिक संस्थाहरुका साथै बालबालिका तथा युवाहरुले निर्वाह गर्नु पर्ने भूमिकाबारे जानकारी प्रदान गर्ने अवसर उपलब्ध गराउँदछ।
चाइल्ड सेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, “यो दिवसले प्रविधिको सकारात्मक प्रयोगलाई बढाउन र बालबालिका र युवाका लागि राम्रो र सुरक्षित अनलाइन वातावरण बनाउन मद्दत गर्दछ।”
बालबालिका र युवालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार भएकाले अनलाइन बाल सुरक्षा सरकार, नीति निर्माता, प्रहरी, अभिभावक, स्कूल, व्यापारिक कम्पनी र सामाजिक संस्थाहरुका साथै सबै सरोकारवाला तथा जिम्मेवार निकायहरुको प्राथमिकतामा पर्नुपर्ने रघुवंशीले बताए।
कोभिड–१९ विश्व महामारी पछि विश्वव्यापी रूपमा अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनामा ठूलो वृद्धि भएको छ। अमेरिकाको नेशनल सेन्टर फर एक्सप्लोइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुर्व्यवहारका चित्रहरुको साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए। सन् २०२१ मा ४१५ प्रतिशतले वृद्धि भएर नेपाली बालबालिकाका साइबरटिप्लाइन रिपोर्टको संख्या २६३,१३० पुगेको छ। यसबाहेक, चाइल्डसेफनेट र युनिसेफको अध्ययनअनुसार नेपालमा पोर्नोग्राफिक साइटहरूमा सरकारले लगाएको प्रतिबन्ध छि पनि दुईजनामा एक जना किशोर वा नवयुवक र तीनजनामा एकजना किशोरी वा नवयुवतीले अनलाइनमा यौनजन्य सामग्री हेर्ने गरेको पाइएको उल्लेख छ।
प्रकाशित: २३ माघ २०७९, सोमबार