
काठमाडौं ।
सरकारी स्वामित्वको नेपाल टेलिकम फाइभजी सेवा परीक्षण गर्नबाट फेरी पछि हटेको छ। नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक वार्षिकोत्सवको अवसरमा फाइभजी सेवा परीक्षण गर्ने चर्चा थियो। तर नेपाल टेलिकमले आफ्नो कार्यक्रममा फाइभजी परीक्षणका सम्बन्धका कुनै औपचारिक जानकारी समेत दिएन्।
फाइभजी सेवा परीक्षण गर्नका लागि आवश्यक पूर्वाधार तयार भइरहेको नेपाल टेलिकमका अधिकारीहरुका दाबी पनि गर्दै आइरहेका थिए। तर आज (आइतबार) फाइभजी परीक्षण शुरु हुन सकेन।
तर नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले वार्षिकोत्सवको अवसरमा फाइभजीका सम्बन्धमा भइरहेका प्रगतिका विषयमा केही जानकारी साझा गरेका छन्। तर उनले फाइभजी सेवा परीक्षणका उपलब्ध भएको घोषणा भने गरेनन्।
‘फाइभजी तर्फ उपकरणहरुको जडान गरी फाइभजीको परीक्षण जारी रहेको छ। जीएसएम प्रविधि अन्तर्गत हाल सञ्चालमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिक रुपमा नै फरक आर्किटेक्चरबाट सञ्चालन हुने भएकाले भविष्यमा फाइभजीलाई व्यावसायिक रुपमा सञ्चालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरहरु मिल्दो हुने वा नहुने, स्तरोेन्ती गर्नु पर्नेरनपर्ने, विस्थापन गर्नु पर्ने/नपर्ने आदि विश्लेषण गर्न कार्य पनि भइरहेको छ,’ प्रबन्ध निर्देशक पौडेलले भने।
नेपाल टेलिकमले काठमाडौं उपत्यकाबाट पहिलो पटक फाइभजी सेवा परीक्षण गर्ने भन्दै सुन्धारा र बबरमहलमा आवश्यक उपकरण जडान गरेको बताएको छ। फाइभजी परीक्षण गर्नका लागि आवश्य उपकरण जाडान भइसकेको र कर्मचारीहरुबाट आन्तरिक परीक्षण पनि सम्पन्न भइसकेको भन्दै गत पुस १७ गते आर्थत अंग्रेजी नयाँ वर्षका दिनबाट सेवा शुरु गर्ने नेपाल टेलिकमले तयारी गरेको थियो।
तर अन्तिम समयमा फाइभजी सपोर्ट गर्ने मोबाइल तथा डिभाइसहरु कम उपलब्ध हुँदा सेवा स्थगत गरिएको नेपाल टेलिकमले जानकारी दिएको थियो।
पहिलो पटक तोकिएको समयमा फाइभजी परीक्षण गर्न असमर्थ भए पनि कम्पनीको १९ औं वार्षिक उत्सवको अवसरमा परीक्षण सेवा शुरु गर्ने कम्पनीको योजना थियो। कम्पनीले आफ्नो वार्षिक उत्सवका अवसरमा विभिन्न नयाँ योजना तथा कार्यक्रमहरु घोषणा गर्दै आइरहेको थियो। यो पटक वार्षिक उत्सवमा फाइभजी परीक्षण गर्ने टेलिकमका अधिकारीहरुले बताउँदै आएका थिए। सञ्चारमन्त्रीले नै फाइभजी परीक्षणको घोषणा गर्ने कम्पनीका अधिकारीहरुले बताउँदै आएका थिए।
तर के कारणले फाइभजी सेवा शुरु हुन नसकेको भनेर टेलिकमले आधिकारिक जानकारी दिएको छैन।
उता नेपाल टेलिकमको वार्षिकोत्सवमा आफ्नो मन्तव्य राख्ने क्रममा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभजी सेवा परीक्षण नगरेकोमा असन्तुष्टि व्यक्त गरे।
‘सरकारले फाइभजीका लागि फ्रिक्वेन्सी निशुल्क दिएको छ। २ ओटा बीटीएस राखेर प्राविधिक परीक्षण गर्न खोजेको जस्तो देखिन्छ,’ अध्यक्ष खनालले भने, ‘हामीले रिङरोड भित्रका उपभोक्ताले ५जी प्रयोग गरे उहाँहरूको अनुभव बुझ्न खोजेका हौं।’
सरकारले टेलिकमलाई फाइभजी सेवाको परीक्षण गर्नका लागि २६०० मेगाहर्ज ब्याण्डमा निशुल्क फ्रिक्वेन्सी उपलब्ध गराएको छ।
फाइभजी किन शुरु नभएको भन्ने बारेमा टेलिकमका उच्च अधिकारीहरु हाल ‘तैं चुप मै चुप’ भएका छन्।
प्रकाशित: २२ माघ २०७९, आईतवार