
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छन्।
नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने बताईन्।
उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशसनीय कार्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन निर्देशन दिए।
विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको महत्वाकाङ्क्षी नाराले सार्थकता पाएको भन्दै उनले आगामी दिनमा आफ्नै भूउपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताए।
सरकारको अधिकांश स्वामित्व भएको संस्थाले सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको बताए।
“वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै नेपाल टेलिकम जस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्बर्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुनेछ”, उनले भनिन्।
कम्पनीका दूर्गमका कार्यालयमा कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको, समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री शर्माले समयमै कम्पनीका आयोजनाको काम पूरा गर्न पनि निर्देशन दिइन्।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नुपर्ने दायित्वलाई दृष्टिगत गति सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताए। साथै नेपाल टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन तथा गुणस्तरीय सेवा सुलभ दरमा देशभर पुर्याउनुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित: २२ माघ २०७९, आईतवार