
काठमाडौं ।
जापानको होन्डा मोटर कम्पनीले यो वर्ष जनरल मोटर्स कम्पनीसँग संयुक्त रूपमा विकास गरिएको नयाँ हाइड्रोजन फ्युल सेल प्रणाली उत्पादन सुरु गर्ने र हाइड्रोजन व्यवसाय विस्तार गर्न यस दशकमा बिस्तारै बिक्री बढाउने बताएको छ।
होन्डाले यस दशकको मध्यमा नयाँ प्रणालीको करिब २,००० इकाइहरू वार्षिक बिक्री गर्ने लक्ष्य राख्ने कम्पनीले बिहीबार भनेको छ। यसका साथै सन् २०३० मा प्रति वर्ष ६०,००० युनिटसम्म पुर्याउने लक्ष्य राखेको रोयटर्सले लेखेको छ।
जापानी कार निर्माताले आफ्नो नयाँ प्रणालीको प्रयोगलाई आफ्नै इन्धन सेल विद्युतीय सवारी साधन (एफसीईभी) को लागि मात्र नभई भारी ट्रक जस्ता व्यावसायिक सवारी साधन, स्थिर पावर स्टेशन र निर्माण मेसिनरीमा पनि विस्तार गर्न खोजिरहेको छ।
होन्डाले यो वर्ष जीएमसँगको संयुक्त लगानीमा हाइड्रोजन फ्युल सेल प्रणालीको उत्पादन सुरु गर्ने होन्डाका वरिष्ठ प्रबन्ध कार्यकारी निर्देशक सिन्जी ओयामाले टोकियोमा कम्पनीको एक कार्यक्रममा पत्रकारहरूलाई भने।
“नेक्स्ट जेनेरेसन” प्रणालीको साथ, कम्पनीले आफ्नो पुरानो फ्यूल सेल प्रणालीको तुलनामा दोब्बर स्थायित्व र लागत दुई तिहाइले घटाउने लक्ष्य राखेको छ।
“व्यावसायिक सवारी साधनहरू संसारभरि प्रयोग भइरहेका बेला, तिनीहरूले यात्रु कारहरूमा जस्तै विद्युतीकरण देख्नेछन्,” होन्डाको हाइड्रोजन व्यवसाय विकास डिभिजनका महाप्रबन्धक टेत्सुया हासेबेले भने।
प्रकाशित: २२ माघ २०७९, आईतवार