विद्युतीय सवारीको चार्जिङ स्टेसन परीक्षणको क्रममा

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
विद्युतीय सवारीको चार्जिङ स्टेसन परीक्षणको क्रममा
फाइल तस्बिर

काठमाडौं ।

महोत्तरी जिल्लाको बर्दिबासमा नवनिर्मित विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ सञ्चालन भएको छ। बर्दिबासस्थित इलाका प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको चार्जिङ स्टेसन अहिले प्राविधिक परीक्षणको चरणमा छ। परीक्षणको क्रममा रहेको चार्जिङ स्टेसनबाट दैनिक १० देखि १५ थान सवारीसाधनले सेवा लिने गरेका छन्।

चार्जिङ स्टेसनको परीक्षण अनुगमनका लागि बर्दिबास आएका प्राविधिक अमृत स्याङ्तानकाअनुसार अहिलेसम्म बर्दिबास स्टेसनमा आएका विद्युतीय सवारीको रिचार्जमा कुनै समस्या देखिएको छैन। चिनियाँ ठेकेदार कम्पनी ‘वाङ बान डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत् प्राधिकरणबीच देशभरका ५१ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्ने सम्झौताअन्तर्गत यहाँ पनि निर्माण भएको हो। यसका लागि बर्दिबास प्रहरीले आवश्यक जग्गा उपलब्ध गराएको छ।

चिनियाँ ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ कार्यक्रमका व्यवस्थापक शिव अधिकारीका अनुसार एउटै स्टेसनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएका छन्। ठूला सवारीका लागि ‘जीबीटी’ र साना सवारीका लागि ‘सीसीएस’ मेसिनले चार्ज गर्ने जनाइएको छ। दुवैले एकै पटकमा तीन–तीन ओटा गरी छवटा सवारी चार्ज गर्न सक्ने अधिकारीले बताए। परीक्षण कालमा रहेको स्टेसन प्राधिकरणलाई हस्तान्तरण गरिने उनले बताए।

अधिकारीले भने, “भर्खरै निर्माण सकिएकोले यो चार्जिङ स्टेसन अहिले प्राविधिक परीक्षणको चरणमा छ। दुई, तीन सातापछि विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्छौ, त्यसपछि यसको औपचारिक सेवा सुरु हुने छ।”

विद्युतीय सवारीसाधनको प्रयोग र प्रवद्र्धनमा जोड दिने उद्देश्यले नव निर्मित चार्जिङ स्टेसनमा अत्याधुनिक प्रविधि जडान भएकाले यसले मानवरहित सेवा दिनेछ। दिगोका अर्का प्राविधिक सागरमान ताम्राकारका अनुसार यो चार्जिङ स्टेसनले मोबाइल एपबाटै भुक्तानी, चार्जिङका लागि समय बुकिङ र स्टेसन खाली वा व्यस्त छ हेर्न मिल्ने सुविधासमेत रहेको बताए ।

बर्दिबास स्टेसनमा गाडी चार्जिङका लागि बुधबार पुगेका सिन्धुलीका विक्रम देवानले विद्युतीय सवारी निकै सस्तो भएको अनुभव बाँडे।

अहिले चार्जिङ स्टेसनले समयअनुसार चार्जिङ शुल्क निर्धारण गरेको छ। स्टेसनका प्राविधिक ताम्राकारका अनुसार साँझ ५ बजेदेखि राति ११ बजेसम्म पिक आवरमा प्रतियुनिट १० रुपियाँ ४४ पैसा, राति ११ बजेपछि बिहान ५ बजेसम्म ६ रुपियाँ ६० पैसा र बाँकी समयमा रिचार्ज गर्दा प्रतियुनिट आठ रुपियाँ २८ पैसा शुल्क निर्धारण गरिएको छ।

निर्माण कम्पनी वाङ बानले सम्झौता गरेका ५१ चार्जिङ स्टेसनमध्ये बर्दिबाससमेत गरी ३० ठाउँमा निर्माण सम्पन्न भइसकेको छ। १२ ठाउँको निर्माण अन्तिम चरणमा पुगेको र नौ ठाउँमा जग्गालगायतका प्राविधिक कारणले निर्माणको चरणमा रहेको चिनियाँ ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’का कार्यक्रम व्यवस्थापक शिव अधिकारीले बताए। गोरखापत्रबाट

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार