
काठमाडौं ।
नेपाल टेलिकमले आईतवार गर्न लागेको फाइभजी सेवाको परीक्षणको तयारी पुरा गरेको छ। निकै समयदेखि चर्चामा रहेको टेलिकमको फाइभजी सेवाको परीक्षण कम्पनीले आफ्नो १९ औं वार्षिकोत्सव पारेर गर्ने भएको जानकारी दिएको छ।
कम्पनीले यसअघि बजारमा फाइभजी सेवाको प्रयोग गर्ने डिभाइस नै नभेटिएपछि परीक्षणलाई स्थगित गरेको थियो। तर चर्को दबाबपछि बजारमा डिभाइस निकै कम भएपनि हाल परीक्षण गर्ने तयारी गरेको हो।
“कम्पनीले भोली फाइभजी सेवाको परीक्षण मोबाइल डिभाइसमा चलाएर देखाउने छ, तर यो सेवाको लागि बजारमा २/३ ओटा मोडलका डिभाइसहरु मात्र भेटिएका छन्,” टेलिकम स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।
उनकाअनुसार टेलिकमले फाइभजी परीक्षण गरेपनि हाल व्यवहारिकरुपमा प्रयोगमा आउने संभावना छैन्।
“हामीलाई दिईएको २६०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीयुक्त स्मार्टफोनहरुमा मात्र ५जी सेवा चल्ने हो। अन्य फाइभजी फोनहरुमा सो फ्रिक्वेन्सी छैन भने त्यसमा पनि चल्दैनन्,” कम्पनी स्रोतले भन्यो, “त्यसैले हाल प्राविधिकरुपमा फाइभजी सक्षम छौं भनेर मात्र देखाउने हो।”
टेलिकमकाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीले आईतवार मोबाइल फोनमा सो परीक्षण गरेपछि औपचारिकरुपमा फाइभजी सेवाको ग्राहक परीक्षण शुरु भएको घोषणा गरिने तयारी गरिएको छ।
प्रकाशित: २१ माघ २०७९, शनिबार