
काठमाडौं ।
नेपाल वायुसेवा निगमले अनलाइनबाटै हवाई टिकट काट्ने व्यवस्था सुरु गरेको छ। निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत् काट्न सक्ने भएका छन्।
“नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई इसेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निगमले आगामी दिनमा अन्य वालेट तथा वेबसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ।
निगमले दुर्गम/विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ।
“आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ”, जारी विज्ञप्तिमा भनिएको छ।
एयरलाइन्सले अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुका लागि टिकट सिस्टम छुट्टाछुट्टै बनाएको छ। एयरलाइन्सले डोमेस्टिक उडानका लागि भोजपुर, दाङ, इलाम, काठमाडौँ, फाप्लु, ताप्लेजुङ, बाजुरा, डोल्पा, जुम्ला, खानिडाँडा, नेपालगन्ज, रुकुम, सिमकोट, ताल्चा, धामकर्ख विमानस्थलका लागि टिकट उपलब्ध गराएको छ।
त्यसै गरी अन्तर्राष्ट्रिय चीन, भारत, जापान, मलेसिया, कतार, साउदी अरविया, थाङल्याण्ड, युएइका लागि टिकट उपलब्ध गराएको छ।
यसअघि पर्यटन मन्त्री सुदन किरातीले एयरलाइन्स व्यवस्थापनलाई तत्काल अनलाइट टिकेटिङ्गको व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
प्रकाशित: २१ माघ २०७९, शनिबार