
काठमाडौं ।
एक वालेटबाट अर्को वालेटमा हुने भुक्तानी सीमा घटाइएको छ। अब एक वालेटबाट अर्को वालेटमा प्रति दिन ५० हजार रुपैयाँ मात्र कारोबार गर्न सकिन्छ।
नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक वालेटबाट अर्को वालेटमा हुने भुक्तानीको सीमा घटाइएको हो।
निर्देशन जारी हुनु अघि एक वालेटबाट अर्को वालेटमा प्रति दिन १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँ कारोबार गर्न सकिन्थ्यो। यस्तो कारोबार प्रत्येक महिना ५ लाख रुपैयाँसम्म गर्न सकिन्छ।
वालेटबीच हुने कारोबार रकम सीमा घटाइए पनि वालेट र बैंक बीच हुने कारोबार सीमा भने बढाइएको छ।
वालेटबाट बैंक खाता तथा बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपैयाँसम्म जम्मा तथा भुक्तानी गर्न सकिने भएको छ। यस्तो कारोबार प्रत्येक महिना १० लाख रुपैयाँसम्म गर्न सकिन्छ।
यस्तै, मोबाइल एप्लिकेशन र क्यूआरबाट हुने कारोबार रकमको सीमा एक लाख रुपैयाँले बढाएर प्रति दिन ३ लाख रुपैयाँ पुर्याइएको छ।
साथै वालेटमा ५० हजार रुपैयाँभन्दा बढी मौज्दात ओभरनाइट ब्यालेन्स राख्न पाइनेछैन। सो सीमा भन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्म हुने व्यवस्था मिलाउनु पर्नेछ।
वालटेबाट वालेट प्रयोगकर्ताको आफ्नै बैंक खाता (वालेट लिंक गरिएको)मा रकमान्तर गर्दा कुनै सीमा लाग्ने छैन।
भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिटेन्स भित्र्याउन सक्नेछन्। यसरी रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा नपुग्ने निर्देशनमा उल्लेख गरिएको छ।
विदेशबाट वालेटमा प्राप्त रेमिटेन्स रकम वालेटको ओभरनाइट ब्यालेन्सको सीमाभन्दा बढी भएको अवस्थामा प्रापकले उपलब्ध गराएको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्नेछ।
प्रकाशित: १७ माघ २०७९, मंगलवार