
काठमाडौं ।
अमेरिकी बजारलाई लक्षित गरेर नथिङ कम्पनीले नयाँ नथिङ फोन(२) ल्याउने भएको छ। बजारको सन्दर्भमा अमेरिकालाई कम्पनीको पहिलो प्राथमिकतामा राख्दै नथिङले नयाँ फोन ल्याउन लागेको नथिङ कम्पनीका सीईओ कार्ल पेईले बताएका छन्।
अमेरिकी क्यारियरहरूले प्रयोग गर्ने ब्यान्डहरूको समर्थनमा नथिङ फोन(१) निमार्ण नभएको हुनाले अब भने कम्पनीले अमेरिकी बजारलाई विशेष लक्षित गर्दै उक्त नथिङ फोन (२) २०२३ को अन्त सम्ममा ल्याउन लागेको बताइएको छ।
नथिङले अमेरिकामा हाल आफ्नो टीडब्लुएस बड्स विक्रि गरिरहेको र कम्पनीको कुल बिक्री मध्ये एक तिहाइ बजार अमेरिकी बजार रहेको बताइएको छ। साथै नथिङ फोन(२) ले पनि अमेरिकी बजारमा सोही अनुरुपको समान सफलता पाउने अपेक्षा सीईओ कार्ल पेईले गरेका छन्।
उक्त नयाँ मोडल ओरिजिनल भन्दा थप प्रमियम हुने उल्लेख गरिएको छ। कम्पनीले कुनै पनि मूल्यमा उत्कृष्ट हार्डवेयर प्राप्त गर्नुको सट्टा परिष्कृत सफ्टवेयर अनुभवका साथै ईनोभेटिभ हार्डवेयर डिजाइनको लक्ष्य राखेको हुनाले पेईले उक्त डिभाइसलाई “फ्ल्यागशिप“ भन्न नचाहेको भनी उल्लेख गरिएको छ।
नयाँ फोनहरुले प्रमाणीकरण प्रक्रियाका साथै सफ्टवेयरमा निश्चित सुविधाहरू समावेश गर्नुपर्ने आदेश र माग अमेरिकी क्यारियरहरूको रहेको उल्लेख गरिएको छ। स्रोतसाधनको अभावमा नथिङ फोन (१) अमेरिकी बजारलाई ध्यानमा राखेर डिजाइन नगरिएको बताइएको छ।
शुरुवातमा मोबाइल टोलीमा केवल पाँचजना इन्जिनियरहरू रहेको हुनाले नथिङ ओएसको काम आउटसोर्स गर्नुपर्ने पेईले बताए। तर अहिले टोली विस्तार भइसकेको र सफ्टवेयर को लागि १०० जनाले काम गरिरहेको पेईले थप बताए। साथै नथिङको एन्ड्रोइड १३ बीटा पूर्ण रूपमा आफ्नै उत्पादन रहेको पेईले जानकारी दिएका छन्।
केही वर्ष अघि मात्रै स्थापना भएको कम्पनी अहिले बढ्ने क्रममा रहेको बताइएको छ। सन् २०२१ मा कम्पनीमा २०० कर्मचारीहरू मात्रै रहेको र हाल उक्त संख्या वृद्धि भएर ४०० पुगेको उल्लेख गरिएको छ। साथै कम्पनीको पहिलो वर्षको २४ मिलियन डलर राजस्व २०२२ मा २०० मिलियन डलर पुगी उल्लेखनीय रूपमा बढेको उल्लेख गरिएको छ। अब कम्पनीसँग नयाँ बजार लिनको लागि प्रयाप्त स्रोतहरू भएको थप उल्लेख गरिएको छ।
अमेरिकी उपभोक्ताहरु एप्पल/सामसङको डुओपोलीबाट बोर हुन थालेको पेईले एक अनुसन्धानलाई उद्धृत गर्दै बताएका छन्। कार्ल पेईले अहिले अवसर देखेको र एप्पल/सामसङको विकल्पको रुपमा मोटोरोला र वनप्लसको साथ नथिङ पनि चाँडै नै मैदानमा सामेल हुने उनले बताएका छन्।
प्रकाशित: १७ माघ २०७९, मंगलवार