नेपालको साइबर सुरक्षामा सघाउन अमेरिका इच्छुक

  • Technology Khabar | १७ माघ २०७९, मंगलवार
नेपालको साइबर सुरक्षामा सघाउन अमेरिका इच्छुक

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले नेपालको आर्थिक तथा साइबर सुरक्षाका लागि थप सहयोग गर्ने जानकारी दिएको छ। नेपाल भ्रमणमा आउनुभएकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले उक्त जानकारी दिएकी हुन्।

सोमबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा नेपालसँगको ७५ वर्षे मैत्रीपूर्ण यात्रालाई थप बलियो बनाउँदै आगामी पाँच वर्षमा एक अर्ब अमेरिकी डलर बराबरको लगानी नेपालमा गर्ने योजना अमेरिका सरकारले बनाइरहेको उपविदेशमन्त्री नुल्यान्डले जानकारी दिईन्।

उनले भनिन्, “नेपालको स्वतन्त्रता, प्रजातन्त्र र सार्वभौमिकतालाई बलियो बनाउन सहयोग गर्दै हरित ऊर्जा, बिद्युत् उत्पादन, नवप्रवर्तनकारी उद्यमशीलता, महिला तथा पछाडि पारिएका समुदायले गरेका उद्यम व्यवसाय, स्वास्थ्य, कृषि तथा पर्यटनका क्षेत्रमा अमेरिकाले लगानी प्राथमिकतामा राखेको छ।”

यसका साथै उपविदेशमन्त्री नुल्यान्डले नेपालको साइबर सुरक्षामा सघाउन अमेरिका इच्छुक रहेको बताईन्। उनले भखरै नेपालका सरकारी वेबसाइटहरूमा साइबर आक्रमण भएको घटना सुनेको औँल्याउँदै प्राविधिक सहयोगमार्फत साइबर सुरक्षामा अमेरिकाले सघाउन सक्ने बताईन्। जापान, जर्मनीलगायतका देशलाई साइबर सुरक्षामा सघाइरहेको पनि उनले प्रस्ट पारिन्।

अमेरिका जहिले पनि प्रजातान्त्रिक साझेदारीको पक्षमा रहेको भन्दै उपविदेशमन्त्री तुल्यान्डले नेपालको प्राविधिक र जलविद्युत्मा थप सहकार्य गर्न इच्छुक रहेको जानकारी दिईन्।

प्रकाशित: १७ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...