Technology Khabar १५ माघ २०७९, आईतवार
काठमाडौं ।
राहदानी विभागले पासपोर्ट सेवा सहज बनाउनका लागि २०७९ माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन (Pre-enrollment) फाराम खोल्ने भएको छ।
विभागले हालै सार्वजनिक सूचना जारी गरेर प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने उल्लेख गरेको छ।
यसैगरी अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने र यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षा गरिएको जनाएको छ।
विभागले हाल नियमित सेवा अन्तर्गत ७७ ओटा जिल्ला प्रशासन कार्यालयहरू, १७ वटा इलाका प्रशासन कार्यालयहरू र ३८ वटा विदेशस्थित नेपाली नियोगहरूबाट विद्युतीय राहदानी जारी भइरहेको छ। तर जसलाई तत्कालै राहदानी आवश्यक परेको छ उनीहरूले द्रुत सेवामा राहदानी विभागबाट राहदानी लिन सक्ने व्यवस्था गरिएको जानकारी दिएको। यस व्यवस्था अनुसार राहदानीका लागि वायोमेट्रिक्स दिएपछि सवै विवरणहरू सही भएमा तीनदिनभित्र राहदानी पाउने व्यवस्था छ।
विभागबाट हाल दैनिक करिब ६००० राहदानी छपाइ भइरहेका र प्रत्येक दिन १८०० (आफ्नो मितिमा छुट भएका र रिजेक्ट भएका फाराम समेत गरी) सेवाग्राहीहरूको आवेदन लिने गरिएको उल्लेख गरेको छ।
“तथापि धेरै सेवाग्राहीहरूले राहदानीको अनलाइन फाराम भर्न नपाएको गुनासो गर्नुभएको छ भने प्रत्येक दिन तोकिएको समयमा मात्र अनलाइन फाराम खोल्दा सो समयमा सर्भरमा अत्यधिक लोड परी सेवाग्राहीलाई फाराम भर्न समस्या भइरहेको पनि राहदानी विभागले महसुस गरेको छ,” सूचनामा भनिएको छ।
सोही कारण समस्यालाई समाधान गर्न तोकिएको समयमा मात्र दैनिक फाराम खोल्ने वर्तमान पद्धतिमा परिवर्तन गरी अनलाइन फाराम भर्न सहज बनाउन नयाँ व्यवस्था गरिएको जनाएको हो।
सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूलाई पनि एकसाथ एक महिनाको लागि आफ्नो क्षमता अनुसार अग्रिम रूपमा अनलाइन आवेदन फाराम खोल्ने व्यवस्थाका लागि अनुरोध गरिएको विभागले उल्लेख गरेको छ।
यसरी राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट एकसाथ धेरै फाराम खोल्दा सेवाग्राहीहरूलाई फाराम भर्ने विभिन्न विकल्प हुने र सहज फाराम पाइने अपेक्षा विभागको छ ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र, तराइका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र, पहाडका सुगम जिल्लाहरूमा १५ देखि २० दिनभित्र, हिमाली जिल्लाहरूमा २० देखि ३० दिनभित्र र विदेशस्थित नेपाली नियोगहरूमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ।
उल्लिखित व्यवस्था लागू गरी अनलाइन राहदानी फारामलाई सहज बनाई नेपाली नागरिकहरूलाई सरल, सहज र झन्झटरहित सेवा प्रदान गर्न राहदानी विभाग प्रतिबद्ध रहेकाले सेवाग्राहीहरूले निम्नानुसार सहयोग गर्नुहुन राहदानी विभाग हार्दिक अनुरोध गरेको छ।
(क) आफ्नो कार्यक्रम अथवा विदेश भ्रमणको सम्भावना भएका नेपाली नागरिकहरूले समयमै योजना गरी नियमित सेवामा आफ्नै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानी आवेदन गर्नुहुन।
(ख) पहिले यन्त्रवाचक राहदानी (MRP) लिएका सेवाग्राहीले एक वर्षभन्दा कम अवधि रहेको राहदानी नवीकरण गर्न मिल्ने भएकाले सो मिति ख्याल गरी समयमा नै योजना गर्नुहुन।
(ग) आफूले समयमा योजना नगरेका कारण आकस्मिक परेको भनी विभागमा अनावश्यक दवाव नदिनुहुन ।
(घ) राहदानीका लागि फाराम भरी आफ्नो Appointment मिति र समयमा मात्र राहदानी सेवा पाइने भएकाले आफ्नो पालो कुर्नु हुन ।
(ङ) राहदानी विभागको फाराम भरेका सेवाग्राहीमात्र आफ्नो Appointment मिति र समयमा राहदानी विभाग आउनुहुन ।
(च) फाराममा भरेको विवरण नै राहदानीमा छापिने भएकाले फाराम भर्दा आफ्नो विवरण शुद्ध भर्ने, सक्कल कागजात अपलोड गर्ने र आफैले रूजु गरेर निश्चित भएपछि मात्र Enrollment Center मा पेश गर्नुहुन ।
(छ) पुरानो यन्त्रवाचक राहदानी र नागरिकता प्रमाण पत्रमा विवरण फरक परेका सेवाग्राहीहरूले जिल्ला प्रशासन कार्यालयबाट आफ्नो विवरण निश्चित गरेको प्रमाण सहित फाराम भर्नुहुन ।
(ज) दोहोरो फाराम भरेको पाइएमा राहदानी फाराम रद्ध हुनसक्ने भएकाले एक जना सेवाग्राहीले एउटा मात्र अनलाइन फाराम भर्नुहुन ।
(झ) मेडिकल इमर्जेन्सी तथा छोटो सूचनाका आधारमा राष्ट्रलाई प्रतिनिधित्व गरी विदेश जान आकस्मिक राहदानी आवश्यक पर्नेहरूको मात्र प्रमाण हेरी Appointment मिति र समय अगाडि सारिने हुँदा विभागलाई मिति सार्न अनावश्यक दवाव दिने र भिडभाड गर्ने कार्य नगर्नुहुन ।
(ञ) सेवा प्रदायक र सेवाग्राही दुवै सचेत भएमा विचौलियाले ठग्न नसक्ने हुँदा तथा पालो कुर्दा राहदानीको फाराम भर्न पाइने र आफ्नो पालोमा ढुक्कले राहदानी बनाउन सकिने हुँदा कसैको प्रलोभनमा नपर्नुहुन ।
(ट) फाराम भर्ने सेवा प्रदायकहरूले फाराम भरेको न्यूनतम सेवा शुल्क मात्र लिनुहुन र सेवाग्राहीहरूले पनि फाराम भरेको न्यूनतम शुल्क बाहेक कसैले अतिरिक्त रकम माग गरेमा यथासिघ्र नेपाल प्रहरीलाई सम्पर्क गर्नुहुन ।
(ठ) घुस दिनु र लिनु दुवै अपराध भएकोले आफू अपराध नगर्ने र अरूलाई पनि अपराधी बन्न नउकास्ने कार्यमा सदैव सचेत रहनुहुन। राहदानी सेवा सम्बन्धमा कसैले अतिरिक्त रकम मागेमा यथासिघ्र राहदानी विभाग वा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिनुहुन ।
(ड) राहदानी बनाउन वायोमेट्रिक दिएका सेवाग्राहीले राहदानी विभागको वेब पेज https://nepalpassport.gov.np/ मा गएर Check Latest Passport Status वा Nepal ePassport मोबाइल एप्सबाट आफ्नो पासपोर्ट तयार भएको नभएको सम्बन्धी विवरण थाहा पाउनुहुन ।
(ढ) Your Passport is Ready to Collect भन्ने SMS Message आएपछि राहदानी लिन तथा Reject भएको SMS Message आएपछि विवरण सच्याएर पुनः वायोमेट्रिक गर्न सम्बन्धित Enrollment Center मा जानुहुन ।
अग्रिम एपोइन्टमेन्ट लिने र आफ्नो पालो कुर्ने विश्वव्यापी प्रचलन नै रहेको भन्दै जस्तोसुकै विकसित मुलुकले पनि सबैलाई एकैचोटी सेवा दिन नसक्ने दाबी गरेको छ।
राहदानीको अत्यधिक माग रहेको वर्तमान अवस्थालाई मध्यनजर गरी सेवाग्राहीले अग्रिम फाराम भरी पालो कुर्दा अनलाइन राहदानी फाराम सजिलै उपलब्ध हुने राहदानी विभागको अपेक्षा छ।


प्रकाशित: १५ माघ २०७९, आईतवार