काठमाडौं ।
डियरवाकका संचालक तथा लगानीकर्ता डा. रुद्र राज पाण्डेलाई आफूलाई जेल हाल्ने धम्की आएको बताएका छन्।
सूचना प्रविधि क्षेत्रमा लगानी गर्दै आएका उनले हिजो सामाजिक संजाल ट्विटरमार्फत आफूलाई फेक एकाउन्टबाट धम्की आएको बताएका हुन्। उनले आफूलाई जेल हाल्ने धम्की समेत दिईएको बताए।
उनले आफू एनआरएनको हैसियतमा रहेको भन्दै विभिन्न किसिमका धम्की आउने हो भने गैर आवासिय नेपालीले किन देशभित्र लगानी गर्ने भन्ने प्रश्न गरेका छन्।
उनले हाल आफूले नेपालको शिक्षा क्षेत्र २० लाख डलर लगानी गरेको बताए पनि कुन कुन संस्थामा लगानी गरेको भन्ने सार्वजनिक गरेका छैनन्।
https://twitter.com/rudrarajpandey/status/1619381336397201408
उनी नजिकको स्रोतहरुकाअनुसार पाण्डेले सूचना प्रविधिसम्बन्धि शिक्षा प्रदान गर्ने डियरवाक इन्स्टिच्यूट अफ टेक्नोलोजीमा लगानी गरेर संचालन गर्दै आएका छन्।
अमेरिकामा लामो समय रहेर डियरवाक अमेरिका खोलेका पाण्डेले सोहीअन्तरगत नेपालबाट आउटसोर्स गर्ने कम्पनी डियरवाकमा लगानी गरेका थिए तर पछि उक्त कम्पनी बेचिसकेका छन्।
विकिपेडियाकाअनुसार पाण्डे हाल विश्वभर सफ्टवेयर विकास र सूचना प्रविधि सेवाहरू प्रदान गर्ने अमेरिकी कम्पनी डियरहोल्ड लिमिटेडका संस्थापक र कार्यकारी अध्यक्षको रूपमा कार्यरत छन्।
हाल उनले डियरवाक इन्स्टिच्यूट बाहेक हाम्रो पात्रोमा समेत लगानी गरेर संचालकको रुपमा कार्यरत रहेका छन्।
पाण्डेले संचालन गरेको डियरवाक इन्स्टिच्यूट अफ टेक्नोलोजी नेपालमा बिएस्सी सीएसआईटी कार्यक्रम संचालन गर्ने त्रिभुवन विश्वविद्यालयअन्तरगत सबैभन्दा महंगो शुल्क लिएर पढाउने इन्स्टिच्यूटको रुपमा परिचित छ।
उनले पछिल्लो समय आफ्नो संस्थाले पाएको कोटा कम भएको भन्दै कोटा बढाउन समेत माग गर्दै आएका छन्।
डियरवाक इन्स्टिच्यूटले अन्य सूचना प्रविधिसँग सम्बन्धित छोटो अवधिको तालिम समेत संचालन गर्ने गर्दछ।
यसैगरी उनले दुबईमा पनि छिटै हेल्थटेक तथा फिनटेक सेवा शुरु गर्न लागेको जानकारी ट्विटरमार्फत नै दिएका छन्।
प्रकाशित: १५ माघ २०७९, आईतवार