काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले आज आइतबारदेखि नौ ओटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको छ ।
यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो। प्रवक्ता नवीन मानन्धरकाअनुसार सुरुमा नौ र क्रमशः ३२ सै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको छ।
निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो।
यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो।
विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ। नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ। नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ।
प्रकाशित: १५ माघ २०७९, आईतवार