Technology Khabar १२ माघ २०७९, बिहीबार
काठमाडौं ।
बेलायतमा अमेजन युनियनका कामदारहरू ज्याला र गम्भीर काम गर्ने अवस्थाको विषयलाई लिएर पहिलो पटक प्रदर्शनमा उत्रिएका छन्।
हडताल गरिरहेका अमेजनका कामदारहरूले ०.५० पाउन्ड स्टर्लिंङ (६२ सेन्ट्स) ज्याला एकदमै न्यूनतम र अपर्याप्त भएको भन्दै पारिश्रमिक बढाएर प्रति घण्टा १५ पाउन्ड स्टर्लिंङ (१६.४८ अमेरिकी डलर) को माग गर्दै प्रदर्शनमा उत्रिएको उल्लेख गरिएको छ।
जीएमबी युनियन कार्यकर्ताहरूको ९० प्रतिशत बहुमतले अमेजनको कोभेन्ट्री आपूर्ति केन्द्रमा “ऐतिहासिक“ वाकआउटको पक्षमा मतदान गर्दै यस वर्षको सुरुमा जनवरी २५ लाई हडतालको मिति घोषणा गरेको उल्लेख गरिएको छ। हाल उक्त प्लान्टमा १,००० कामदारहरू कार्यरत रहेका छन भने त्यसमध्ये ३०० कामदारहरू युनियनमा संलग्न रहेको र उनीहरु हडतालमा सहभागी हुने अपेक्षा गरिएको बताइएको छ।
अमेजनले एक विज्ञप्तिमार्फत जानकारी गराउँदै उक्त हडतालको आकार बेलायतम भएका कर्मचारीहरूको एक प्रतिशतको एक अंश मात्र रहेको इनग्याजेटले उल्लेख गरेको छ। त्यसैगरी २०१८ देखि तलब २९ प्रतिशतले बढाइएको र मुद्रास्फीतिको दौरान कामदारहरूलाई मद्दत गर्नको लागि भनेर कम्पनीले वान–टाइम पेमेन्टको रुपमा एक पटक ५०० पाउण्ड रकम पनि भुक्तानी गरेको उल्लेख छ। साथै कर्मचारीहरूका निम्ति भनेर कम्पनीले व्यापक लाभहरू पनि प्रदान गर्ने गरेको बताइएको छ। हजारौं मूल्य बराबरको कम्पनीको उक्त व्यापक लाभहरूमा निजी चिकित्सा बीमा, जीवन बीमा, अनुदानित भोजन र कर्मचारी छुट जस्ता लगायतका सेवाहरु समावेश गरिएको अमेजनले जनाएको छ।
दुई कर्मचारीका अनुसार कम्पनीको नाफा र उच्च मुद्रास्फीतिलाई ध्यानमा राखेर अमेजनले गत अगस्टमा १०.५० पाउण्ड देखि ११.४५ पाउण्ड प्रति घण्टाको सानो दरले तलब बढाउने प्रस्ताव राखेको बीबीसीले लेखेको छ।
प्रकाशित: १२ माघ २०७९, बिहीबार