
काठमाडौं ।
खानी इन्जिनियरिङ शिक्षा सञ्चालनका लागि गण्डको विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ। खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एकआपसमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
गण्डकी विश्वविद्यालयमा कुलपति प्रा.डा. गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
पाँच वर्षसम्म कायम हुने सर्तसहित गरिएको सम्झौता पत्रमा उच्च शिक्षाका हरपक्षमा आवश्यक विकास, प्रोत्साहन र समृद्धिमा सहकार्य गर्ने उल्लेख छ। सो सम्झौता पत्रमा भनिएको छ, “दुवै विश्वविद्यालयले आ-आफ्ना स्नातक, स्नातकोत्तर र विद्यावारिधि अध्ययनरत विद्यार्थीको आवश्यकताअनुसार पठनपाठनमा पूर्ण सहयोग गरिनेछ।”
खानी इन्जिनियरिङसम्बन्धी सम्झौता भएसँगै एक कमिटी नै गठन गरिने जनाइएको छ। दुवै बिश्वबिद्यालयले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीलाई अर्को विश्वविद्यालयमा काजमा खटाउन सक्ने व्यवस्था मिलाएको छ।
बिश्व बजारमा माइनिङ इन्जिनियरिङको माग बढ्दै गएकाले काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेर अगाडि बढ्न लागेको गण्डकीका कुलपति प्राध्यापक डाक्टर गुरुङले बताए। काठमाडौँ बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. थापाले तामा, फलामसँगै ढुङ्गा, गिट्टी, बालुबालाई सदुपयोग गर्न खानी इन्जिनियरिङ पढाइ आवश्यक रहेको बताए।
“सरकारले क्षेत्रमा युबाले पढ्न चाहेको पाठ्यक्रम बनाएर रोजगारमूलक शिक्षा दिएका छौं,” उनले भने। दुई विश्वविद्यालयबीचको सम्झौताले शिक्षाको गुणस्तरमा समेत जोड दिएको छ। राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। गोरखापत्रबाट
प्रकाशित: ११ माघ २०७९, बुधबार