
काठमाडौं ।
स्मार्टफोनहरुको लागि रिट्र्याक्टेबल पोर्टेट क्यामरा प्रिमियर गरेपश्चात टेक्नोले अब कन्सेप्ट रोलेबल स्लाइडिङ स्क्रिन फोन ल्याएको छ।
टेक्नो फ्यान्टम भिसन भी कन्सेप्ट नामक उक्त डिभाइसले ट्याबलेटहरुको अन्त्य गर्ने दाबी गरिएको छ। उक्त डिभाइसलाई फोल्ड गरेको खण्डमा यो अन्य नियमित स्मार्टफोनहरुकै आकारको हुन आउने र साथै खल्तीमा पनि सहज तवरमा नै अटाउने उल्लेख गरिएको छ। साथै यसलाई आवशेक परेमा मिड–साइज ट्याबलेटको जत्रो साइजमा पनि ल्याउन सकिने बताईएको छ।
टेक्नो फ्यान्टम भिसन भी पनि अन्य नियमित फोल्डेबलहरु जसरी नै फोल्ड गर्न सकिने छ। उक्त डिभाइसको अगाडिको भागमा डिस्प्ले रहेको र पछाडिको भागमा भने ट्रिपल क्यामरा सेटअप समावेश गरिएको छ। साथै रिभर्स–साइड ब्याक कभरको रुपमा टेक्नोले डिभाइसको पछाडि थप एउटा सानो डिस्प्ले समावेश गरेको छ। उक्त डिस्प्लेमा नोटिफिकेसन, रिमाइडर्सका साथै सधैं–अन रहने डिस्प्ले–स्टाइलको घडी हेर्न सकिने उल्लेख छ।
ग्यालेक्सी जेड फोल्ड४, शाओमी मिक्स फोल्ड२ र भिभो एक्स फोल्ड प्लसहरुको जस्तै उक्त डिभाइसमा पनि ठूलो इनर डिस्प्ले समावेश गरिएको छ। साथै टेक्नो फ्यान्टम भिसन भी कन्सेप्टले आफ्नो इनर डिस्प्लेलाई रोल गरी विस्तार गरेको खण्डमा उक्त स्क्रिन १०.१ इन्चको हुने छ।
उक्त डिस्प्ले ११ ओटा फङस्नल लेयरहरु मिलेर बनाइएको र यसले स्क्रिनलाई लचिलोपन र स्थायित्व दुवै प्रदान गर्ने उल्लेख गरिएको छ। साथै टेक्नो फ्यान्टम भिसन भी कन्सेप्टको आवरण “एरोस्पेस–ग्रेड“ टाइटेनियमबाट निर्माण गरिएको भएर उक्त आवरण धेरै टिकाउ पनि हुने दाबी गरिएको छ।
टेक्नो फ्यान्टम भिसन भी एउटा कन्सेप्टल अवधारणा भएको र टेक्नोले कहिले देखि व्यावसायिकरूपमा उक्त उत्पादनलाई उपलब्ध गराउने हो भन्ने कुनै जानकारी छैन्।
प्रकाशित: ५ माघ २०७९, बिहीबार