जुम्लाको सिञ्जामा शुरु भयो फोरजी सेवा

  • Technology Khabar | ५ माघ २०७९, बिहीबार
जुम्लाको सिञ्जामा शुरु भयो फोरजी सेवा

काठमाडौं ।

जुम्लाको सिञ्जा गाउँपालिका–४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भई सञ्चालनमा आएको छ।

टेलिकमले दुर्गम जिल्लाका विकट बस्तिहरुमा अत्याधुनिक दूरसञ्चार सेवाहरु सुलभ दरमा उपलब्ध गराउँदै आउने क्रममा जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकामा फोरजी सेवासहितको ब्रोडब्याण्ड इन्टरनेट सुविधा उपलब्ध गराएको हो।

सो गाउँपालिकाको वडा नम्बर ४ मा मोबाइल सेवाका लागि आवश्यक संरचना खडा गरी गाउँपालिकाभरी सेवाको पहुँच स्थापित गरिएको हो । जम्मा ६ ओटा वडा रहेको यस गाउँपालिकाका १, २, ३ र ४ वडाहरुमा मोबाइल सेवा सहजै सबै समय उपलब्ध भइरहेको छ। डाँडा पारी रहेका बडाहरु ५ र ६ मा पनि सेवाहरु नियमित गर्न लागिएको छ।

यहाँको मोबाइल टावरबाट प्रवाह गरिएको सेवाबाट सो गाउँपालिकाका १० हजार भन्दा बढी जनसंख्या लाभान्वित भएको सो गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

गाउँमै फोरजी सेवासहितको उपलब्धतासंगै तीव्र गतिको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि सिञ्जाका बासिन्दादेखि स्थानीय तहलाई काम गर्न राहत पुगेको गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए।

अध्यक्ष धितालले भने, “फोरजी विस्तारले श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा सुधार हुने अपेक्षा राखिएको छ।”

यसअघि उक्त स्थानहरुमा टूजी सेवा मात्र उपलब्ध थियो। सो सेवा पनि सोलार पावरबाट सञ्चालित भएकाले घाम लाग्दा मात्र उपयोग गर्न सकिने वाध्यता पनि थियो।

यस टावरबाट सिञ्जा गाउँपालिकाको दुर्गम स्थान मानिने कनकसुन्दरी र हिमा गाउँपालिककाका केही स्थानका वासिन्दाले पनि अत्याधुनिक दूरसञ्चार सेवाहरु उपयोग गर्न पाइरहेका छन् ।

प्रकाशित: ५ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार