
काठमाडौं ।
वैज्ञानिक बेन्जामिन फ्र्याङ्कलिनको समयदेखि नै चट्याङहरूलाई सुरक्षित रूपमा जमिनमा मार्गदर्शन गर्नका लागि लाइटनिङ रडहरू प्रयोग हुँदै आइरहेको छ। तर उक्त लाइटनिङ रडहरूको छोटो दायरा (उचाइको बराबरको रेडियस) र फिक्स्ड–ईन–प्लेस डिजाइनले गर्दा ठूला क्षेत्रहरूको सुरक्षाको लागि भने प्रभावकारी नभएको बताइएको छ।
त्यसलाई केहि हद सम्मका लागि प्रतिस्थापन गर्नको लागि अन्ततः नयाँ प्रविधिको विकाश गरिएको छ। युरोपेली अनुसन्धानकर्ताहरले टेरावाट–लेवल लेजर पल्सहरू प्रयोग गरेर चट्याङलाई २६–फुट रड तर्फ निर्देशित गर्ने एक प्रणालीको सफलतापूर्वक परीक्षण गरेका छन्। साथै उक्त लेजर पल्सहरूले बादल र कुहिरोलाई छेड्ने र त्यसको कुनै भौतिक उचाइको सीमितता नभएकोले गर्दा धेरै फराकिलो क्षेत्रहरू (५९० फिट) कभर गर्ने दाबी गरिएको छ।
उक्त डिजाइनले नाइट्रोजन र अक्सिजन अणुहरूको आयोनाइज गरी इलेक्ट्रोनहरु रिलिज गरेर बिजुली कन्डक्ट गर्ने प्लाज्माको सिर्जना गर्दछ। त्यसैगरी लेजर १,००० पल्सेस्स प्रति सेकेण्डको तीव्र गतिमा फायर हुने भएकोले यसले चट्याङलाई रोक्ने सम्भावना धेरै छ।
सन् २०२१ को जुन र सेप्टेम्बरको बीचमा गरिएको परीक्षणमा चट्याङले रडमा ठोक्किनु अघि लगभग १९७ फिटसम्म बिमलाई पछ्याएको उल्लेख गरिएको छ।
अनुसन्धानकर्ताहरु वर्षौंदेखि लेजर लाइटनिङ गाइडहरूको खोजि कार्यमा छन्। यद्यपि परीक्षणहरू सामान्यतया धेरै छोटो दूरी र अपेक्षाकृत ढिलो पल्सहरूमा सीमित हुँदै आएको र त्यसले गर्दा सिर्जित चट्याङलाई गुमाउने सम्भावना बढी हुने उल्लेख छ। पहिलेको प्रयासहरुको तुलनामा हालको लेजरले प्रति सेकेन्ड १०० गुणा बढी पल्स प्रहार गरेको भनी उक्त परियोजनाको नेतृत्व गर्न मद्दत गर्ने डा. ओर्लेन हुवार्डले वाल स्ट्रिट जर्नललाई बताएका हुन्।
लेजरलाई परीक्षणहरुभन्दा बाहिर प्रयोग गर्नको लागि धेरै समय लाग्न सक्ने बताइएको छ। उक्त प्रयोगको लागि लेजरको लागतमा लगभग २.१७ बिलियन अमेरिकी डलर खर्च गरिएको यस परियोजनामा सामेल नभएका ग्लासगो विश्वविद्यालयका म्याटियो क्लेरिसीले द जर्नललाई बताए। त्यसैगरी १,६४० फिटको प्रभावकारी कभरेज भएको ३३–फुट रडको प्रयोग गरी खोजकर्ताहरूले भने दायरालाई अझ उल्लेखनीय रूपमा विस्तार गर्ने योजनामा रहेको बताइएको छ।
वैज्ञानिकहरू उक्त प्रयोग सफल भएको खण्डमा भने उक्त प्रयोगको मार्फत ठूला क्षेत्रहरूमा चट्याङ सुरक्षालाई व्यावहारिक रुपमा लागू गर्न सकिने दाबी गरेका छन्। रकेट लन्चप्याडको उडान मार्गको धेरै नजिक भएको खण्डमा चट्याङरूले अवरोध पैदा गरी मिशनलाई ढिलासुस्ति तर्फ डोर्याउने भएकाले उक्त विधि विशेष गरी रकेट लन्चप्याडहरूको सुरक्षाको लागि उपयोगी हुने उल्लेख गरिएको छ।
साथै चट्याङहरु विनाशकारी साबित हुन सक्ने क्षेत्रहरु जस्तै हवाईअड्डा, पावर प्लान्ट, जङ्गलहरू र अन्य फराकिलो स्थानहरूको सुरक्षाका लागि पनि उक्त विधि फलदायी र सहयोगी हुन सक्ने विश्वास गरिएको छ।
प्रकाशित: ४ माघ २०७९, बुधबार