
काठमाडौं ।
गत सेप्टेम्बरमा जे.पी मोर्गनको रिपोर्टले एप्पलले २०२५ सम्ममा २५ प्रतिशत आईफोनहरु भारतमा उत्पादन गर्ने भनी दाबी गरिएको थियो भने अब उक्त सेयर वृद्धि भएर ५० प्रतिशत पुगेको र समय अवधी पनि थप दुई वर्ष बढाएर २०२७ पुर्याइएको भनी साउथ चाइना मर्निङ पोष्टको एक लेखमा उल्लेख गरिएको भनी जीएसएमएरिनामा उल्लेख गरेको छ।
यसैगरी एप्पलले भने आफ्ना चिनियाँ आपूर्तिकर्ताहरूबाट आईफोन कम्पोनेन्टको अर्डरहरू घटाएको हुनाले यसले कम्पनीको आय अनुमान र स्टक मूल्यमा नकारात्मक असर पार्न गएको बताइएको छ।
चीनमा उत्पादन शुरु भएको केही हप्तापछि आईफोन १४ लगायतका नयाँ मोडलहरूको एसेम्बल प्रक्रियालाई भारतमा पनि तीव्रताका साथ अघि बढाइएको छ। यद्यपि आईफोनको कुल उत्पादनमा भारतले हाल ५ प्रतिशत मात्र ओगटेको उल्लेख गरिएको छ। त्यसैगरी एप्पलले चीन र भारतामा आईफोन १५ सिरिजहरुको एकै साथ उत्पादन शुरु गर्ने अफवाहहरू फैलिएका छन्।
एप्पलले आफ्नो उत्पादन विविधीकरण प्रयासको लागि चीन बाहिर आईफोन उत्पादन थालनी गरेको छ। त्यसैगरी कम्पनीले अन्य प्रोडक्टहरु जस्तै एयरपड र म्याकबुकहरूको पनि भारी मात्रामा चीनको सट्टा भियतनाममा निर्माण थालनी गरेको थप उल्लेख गरिएको छ।
प्रकाशित: ४ माघ २०७९, बुधबार