हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न

  • Technology Khabar | २९ पुष २०७९, शुक्रबार
हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न
सांकेतिक तस्विर

काठमाडौं ।

हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ। यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो।

बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवं खगोलविद् डा. सनतकुमार शर्माका अनुसार शुक्रबारदेखि करिब एक महिनासम्म यस पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ। “आजभन्दा ५० हजार वर्षपहिले हिमयुगमा नेन्दरथल तथा हाम्रा पूर्वज ‘होमो सेपियन्स’ पृथ्वीमा विचरण गरिरहेको समयमा पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छ्रेतारा नै फेरि पृथ्वीको नजिक आएको हो”, उनले भने।

यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नाङ्गो आँखाले अवलोकन गर्न सकिनेछ । यस पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलाद्र्धमा बस्नेले अवलोकन गर्न सक्ने र फेब्रुअरीपछि भने दक्षिणी गोलार्द्धमा बस्नेले समेत हेर्न सक्ने उनले जानकारी दिए।

“यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो हो। यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ। सोही मुस्लो हरियो रङको पुच्छर आकारको देखिन्छ, यसैलाई हरियो पुच्छ्रेतारा भनिएको हो”, उनले भने।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार अमेरिकाको पालोमार वेधशालामा रहेको ज्विकी ट्रान्सिएन्ट फेसिलिटी (जेटीएफ)बाट पहिलो पटक सन् २०२२ मार्च २ मा निश्चित गरिएको यो धूम्रकेतु वा पुच्छ्रेतारा सन् २०२१ जुलाई १० देखि सन् २०२३ जनवरी ६ सम्म चार हजार ९६२ पटक अवलोकन गरिएको छ

“यो सङ्ख्या पुच्छ्रेतारा हो भनी किटान भएपछि विभिन्न सर्भेमा भेटिएको हो। यो धुमकेतु सबैभन्दा पहिले अमेरिकाको हवाईमा रहेको प्यानस्टार वेधशालाबाट सन् २०२१ जुलाई १० मा देखिको हो,” उनले भने।

विज्ञान सङ्ग्रहालयका अनुसार यस पुच्छ्रेतारालाई सी-२०२२ ई ३ (जेडटीई) नाम दिइएको छ र यसले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा शुक्रबार सूर्यको सबैभन्दा नजिक पुग्ने हुँदा यसको अवलोकन गर्न सकिन्छ।

“नेपालबाट पनि यो दुर्लभ पुच्छ्रेतारालाई ध्रुवताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ ।

यसको रङ हरियो देखिनुमा डाई कार्बन अणुको समुपस्थिति भएकाले हो,” डा. शर्माले भने। यो पुच्छ्रेताराको अवलोकन नाङ्गो आँखाका साथै वाइनाकुलर तथा टेलिस्कोपबाट समेत अवलोकन गर्न सकिने उनले जानकारी दिए।

अध्यक्ष भट्टराईले वेधशाला नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सन् २०१६ देखि राष्ट्रिय क्षुद्र ग्रह खोज अभियानका लागि सहकार्य गर्दै आएको बताए।

त्यसमा ‘इन्टरनेसनल एस्ट्रोनोमिकल सर्च कोल्याबोरेसन’ को सहकार्य रहेको छ। उनले क्षुद्र ग्रह खोजका लागि यसै टेलिस्कोपले लिएको तथ्याङ्क उपलब्ध गराउँदै आएको जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: २९ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार