सजिलो रेन्टल डटकमले नेपालमा शुरु गर्यो कारपुल सेवा

  • Technology Khabar | २९ पुष २०७९, शुक्रबार
सजिलो रेन्टल डटकमले नेपालमा शुरु गर्यो कारपुल सेवा

काठमाडौं ।

आफ्नै गाडी लिएर कतै यात्रा गर्दै हुनुहुन्छ? सार्वजनिक गाडी होइन, निजीमा जाने सोच बनाउनुभएको छ? त्यसका लागि सिट नपाएर हैरानीमा पर्नुभएको छ? त्यसो हो भने यो समस्या समाधान अब मोबाइलको एक क्लिकमा हुने भएको छ।

केही वर्ष अघिबाट गाडी भाडाका लागि सुरु भएको ‘सजिलो रेन्टल डटकम’ ले मोबाइल एपबाटै गाडीको सिट लिन र दिन मिल्ने सुविधा ‘कारपुल’ सार्वजनिक गरेको छ। यो एपमार्फत गाडीमा कति सिट खाली छ, त्यसको जानकारी आफैं गराउन सकिन्छ भने यात्रा गर्न चाहनेले पनि त्यहीँबाट बुक गर्न सक्ने सुविधा छ।

सजिलो रेन्टलका संस्थापक अर्जुन फुयाँलले युरोप र अमेरिकामा प्रख्यात यो सुविधा ‘सिस्टम’ लाई नेपालमा पनि सार्वजनिक गरिएको बताए। यसले यात्रु र गाडी सञ्चालक दुवैलाई फाइदा पुग्ने अपेक्षा उनको छ।

उनी आफैं पनि अमेरिका बस्दै आएका छन्। त्यहाँ देखेको र सिकेको अनुभव नेपालमा कार्यान्वयन गर्ने उद्देश्यले केही वर्षदेखि सजिलो रेन्टल सेवा दिँदै आएका थिए। अहिले सोही एपमा नयाँ सुविधा थप गरिएको उनको भनाइ छ। यसले यात्रुसहित सवारी चालकलाई पनि सहज हुने अपेक्षा लिएको उनले बताए।

उनका अनुसार यात्रा क्रममा भाडा तय पनि उनीहरूबीच नै हुने भएका कारण कम्पनीले कुनै शुल्क तोकेको छैन। त्यसवापत कम्पनीलाई कुनै पनि शुल्क पनि बुझाउनु पर्दैन। यो सुविधाले पछिल्लो समय सार्वजनिक यातायातमा यात्रा गर्दा हुने कठिनाई अन्त्य हुने विश्वास लिएका छन्। एकजना मात्र यात्रा गर्न आफ्नै सवारीसाधन लिएर जानुपर्ने बाध्यता समेत हटेर सेयरिङमा यात्रा गर्ने प्रवृत्ति बढ्ने उनले बताए।

यसरी लिन सकिन्छ कारपुल सेवा

सजिलो रेन्टल एप डाउनलोड गरेपछि त्यहाँ कारपुलको अप्सन आउँछ। त्यही अप्सनमा क्लिक गरेर आफू चालक हो वा यात्री भन्ने पहिचान गराउनुपर्छ। यदि चालक हो भने आफू जाने गन्तव्य र कति सिट खाली छ भनेर राख्न सकिन्छ र यात्रु हो भने त्यहाँ राखिएका सिट संख्या र गन्तव्य हेरेर पहिचान गर्नुपर्छ।

लाने र जाने दुवैले त्यहाँ मोबाइल नम्बर राख्नुपर्छ। जसले जाने र लाने दुवैलाई सहजीकरणका लागि सुविधा पुग्छ। भाडा लिने/नलिने र कति लिने भन्ने टुंगो भने आपसी सम्झदारीमा हुनेछ। यो सुविधा गाडी, मोटरसाइकल सहित सबैमा लागू गर्न सकिने जनाएको छ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...